Close This

लकडाउनको पनि छाडेनन् भक्ता, बजेटको व्यापक दुरुपयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१ गते   ३३१ पटक हेरिएको

प्रदेश नम्बर २ का जनप्रतिनिधिहरु र स्थानिय निकायमा काम गर्ने कर्माचारीहरुले कोरोना संक्रमणकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ । प्रदेश २ का अधिकांश स्थानिय निकायका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले बाराको सुर्बण गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत पदाधिकारी र कर्मचारीले भ्रमण प्रतिवेदन नबनाई भ्रमण भत्ता बुझेको देखाएको छ ।
उनीहरूले आफ्नै गाउँपालिका र जिल्ला जाँदा पनि दैनिक भत्ता लिने गरेको छानबिनमा भेटिएको छ । गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष बबिता यादव, प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसहित वडाध्यक्षले मिलीजुली बजेट हिनामिना गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उनीहरूले लाखौं रकम निकासा लिई गाडी सुविधासमेत लिएका छन्। गाउँपालिकाभन्दा १० किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम कलैयामा आवास सुविधा लिएको भेटिएको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र लेखापाल प्रिन्सकुमार साहलाई गाउँपालिकाको निर्णयबिनै सदरमुकाममै घर र कोठा भाडामा लिएर राखिएको छानबिनमा देखिएको छ ।
०७६÷०७७ को गाउँसभा सञ्चालन गर्न विशेष निर्णयको ४ नम्बरमा गाउँपालिकाको कार्यालय प्रयोजनका लागि १ थान चारपांग्रे सवारी साधन लिने निर्णय गरेको देखिए पनि प्रमुख कार्यकारी अधिकृतलाई गाडी सुविधा दिने निर्णय भने नभएको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष यादवले भ्रमण प्रतिवेदन नबनाई रु १० हजार ६ सय, प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले रु ४५ हजार भ्रमण भत्ता लिएको प्रतिवेदनमा देखिएको छ। श्रीवास्तवले त मेला व्यवस्थापनका नाममा पनि भत्ता बुझेका छन्। वडाध्यक्ष रञ्जितप्रसाद यादवले काठमाडौं आएको भन्दै रु २६ हजार ५, चितवन आएको भन्दै रु ९ हजार भ्रमण भत्ता बुझेको जनाइएको छ।
अर्का वडाध्यक्ष राम एकवाल साहले रु १० हजार, महेन्द्र राउतले रु ९ हजार ७ सय, विजयकुमार सिंहले रु १४ हजार, शिवधारीदास तत्माले रु १० हजार १ सय, दोलेन्द्रप्रसाद यादवले रु ४ हजार, रोजगार संयोजक सुदीप मण्डलले रु १० हजार ७ सय भ्रमण भत्ता लिएका राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा देखाइएको छ  ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech