Close This

२०७८ को जनगणनाको तयारीका लागि सर्लाहीमा कार्यालय स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-६ गते   २७१ पटक हेरिएको

 सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताउनुभयो ।
 प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले २०७८ सालमा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय गरेको केन्द्रीय तथ्यांक विभागबाट सर्लाही जिल्लाका लागि खटाइएका जिल्ला जनगणना अधिकारी  पोखरेलले बताउनुभयो ।
जिल्ला स्तरीय कार्यालय स्थापना गरि २०७८ सालको जिल्लाको जनगणना कार्यको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । यस्तै, आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी लालबन्दी,मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा स्थानीय जनगणना कार्यालय खोलिने जिल्ला जनगणना अधिकारी पोखरेलले बताउनुभयो । 
उहाँका अनुसार कार्यालयसँग सीमित बजेट र कर्मचारी भएकाले जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताइएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणकहरु करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाईन विज्ञापन समेत गरिएको कार्यलयले जनाएको छ । 
इन्टरनेटको सुविधा नभएकाहरुले सदरमुकाम मलंगवाको जिल्ला जनगणना कार्यालयमै आएर पनि आवेदन दिन आउन जिल्ला जनगणना अधिकारी पोखरेलले आग्रह गर्नु भयो । जिल्ला स्तरीय कार्यालय खुलेसँगै केन्द्रबाट खटिएर आएका आफू लगायतका कर्माचारीहरु अब केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयहरुलाई पत्राचार गर्ने कार्यमै ब्यस्त हुने पोखरेलले बताउनु भयो । 
नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुनेगरेको छ । सोही अनुसार २०७८ सालमा हुन लागेको जनगणना अन्तर्गत सुपरीवेक्षकहरुले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकहरुले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने कार्यलयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech