सर्लाहीको उत्तर–पश्चिम क्षेत्रमा सैयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन्। किसानले प्रतिकिलो ७०÷८० रुपैयाँमा बिउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन्। छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो।
लामो समयदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएको बागमती नगरपालिका–७ राजघाटका रामप्रवेश महतोले यस वर्ष दुई बिघा क्षेत्रफलमा आलु खेती गरेका छन्। उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैंयाँ आलु बिक्री गरेका छन्। महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष ६ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु परेको उनले बताए। महतोका अनुसार यस वर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ।
त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यस वर्ष आलु खेतीबाट लागत उठाउन समेत मुस्किल परेको गुनासो गरे। ‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौं,’ उनले भने, ‘यो वर्ष १५ रुपैयाँमा बेच्नु पर्यो, लागत र हैरानी उठेन।’ आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा १ हजार ४०० देखि १ हजार ८०० रुपैयाँसम्म किनेको उनको भनाइ छ। उनका अनुसार भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन्।
सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शङ्करपुर लगायत क्षेत्रमा व्यावसायिक रुपमा आलु खेती हुने गरेको छ। यस क्षेत्रमा लालगुलाव, कुप्रीसिन्दुरे, विविरे र कोमल जातको आलुको खेती गरिन्छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करिब १ हजार ४०० हेक्टरमा आलु खेती हुने गरेको छ। यस वर्ष मात्र ३ लाख ५२ हजार २ सय क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ। यस क्षेत्रका किसानले मकै लगायतको बालीमा समेत घुसुवा बालीको रुपमा समेत आलु उत्पादन गर्दै आएका छन्।
सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा सित भण्डारणको लागि लैजानु पर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गर्नु भयो ।