Close This

सर्लाहीका वनमा विगत १ महिना पहिला देखि डढेलो सुरु,सरोकार निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-११ गते   २८० पटक हेरिएको

सर्लाहीको वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम सुरु भएसँगै डढेलो लाग्न थालेको छ । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् ।
चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ । डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन् । लालबन्दी नगरपालिका–१४ का चन्द्र बहादुर तामाङ्गले यो समयमा चुरेका पाखामा बर्सेनि डढेलो लाग्ने गरेको बताउनुभयो । तामाङ्गका अनुसार बस्ती छेउमा डढेलो आउन खोज्दा स्थानीयवासी आफैँले निभाए पनि जङ्गलमा फैलिएको डढेलो निभाउन भने कसैले पनि चासो देखाएका छैनन् । 
डढेलोले साना ठूला रुख बिरुवा जलेर खरानी भइरहेका छन् । वन तथा वन्यजन्तु विज्ञले वन क्षेत्रमा यसरी बर्सेनि डढेलो लाग्ने भएकाले सामान्य जस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनुका साथै वातावरणमा समेत गम्भीर असर गरिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । वनमा डढेलो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले सिकार बढेको छ । “वनका कर्मचारी मात्रै लागेर यो याममा लाग्ने डढेलो निभाउन सम्भव नै नरहेको”डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले  बताउनुभयो ।  डढेलो लगाउँदा घाँसपातको पालुवा चाँडो पलाउने गलत सोचाइ राखेर गोठाला तथा स्थानीय बासिन्दाले नै वनमा डढेलो लगाउने गरेको उहाको भनाई छ । डिभिजन वन प्रमुख देवले डढेलो लाग्न नदिन स्थानीय बासिन्दालाई बर्सेनि सञ्चार माध्यमबाट सचेत गराउँदै आइरहेको बताउनुभयो । 
जिल्लाका जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा फागुन महिना देखि नै डढेलो लाग्न सुरु गरेको भएपनि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको पाइएको हो । जसरी चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा लागेको डढेलो नियन्त्रणमा ल्याउने काम भएको छैन, त्यसैगरी सो क्षेत्रबाट वनजन्य पदार्थ र वन्य जन्तुको सिकार पनि निरन्तर भइ रहेको वन कार्यलयका कर्माचारीहरु नै स्विकार गर्दछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech