निर्देशिका र मापदण्ड मान्दैनन् सर्लाहीका स्कूल बस

134 Shares

सर्लाहीमा रहेका नीजि विद्यालयहरुले सञ्चालन गरेका स्कुल बसहरुको मनोमानी बढेको छ ।जिल्लाभर सञ्चालनमा रहेका सयौँ नीजि विद्यालयहरुले सञ्चालन गरेका स्कुल बसहरु नियम विपरीत र मापदण्ड मिचेर सञ्चालन भई रहेका जानकारहरुको भनाइ छ  ।
उहाँहरुका अनुसार तीब्र गति र क्षमताभन्दा बढी विद्यार्थी बोक्दा कुनै समयमा स्कूल बसहरु दुर्घटनामा पर्ने गरेका भएपनि सरोकारवाला निकाय नीजि स्कुल सञ्चालकहरु र ट्राफिक प्रहरी बेखबर देखिने गरेका छन् ।सर्लाही जिल्ला भर नीजि विद्यालयहरुका सयौँ स्कूल बसहरु सञ्चालनमा रहेका र कुनैपनि स्कुल बसहरु नियम र मापदण्डमा नरहेका उनीहरुको भनाई छ ।“जिल्लामा रहेका प्रायः संस्थागत र केही सामुदायिक विद्यालयहरुले स्कुल बस सेवा सञ्चालन गरेका छन्।बालबालिका बोकेर चल्ने स्कूल बस नियम विपरीत चल्ने गरेका भएपनि जिल्लाका विभिन्न स्थानहरुमा चेकिङमा खटिएका ट्राफिक प्रहरीहरुले स्कुल बसहरुलाई वास्तै गर्दैनन् ।”जानकारहरुको भनाई छ ।
स्कुल बसहरुले ट्राफिक नियम पालना नगर्दा र स्कूल बसको मापदण्ड पालना नगर्दा स्कुल बसहरु विभिन्न किसिमका दुर्घटनाहरु हुने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक मदन थापाले बताए ।“तीब्रगति,हर्न धेरै बजाउने, जेब्रा क्रसिङमै रोकेर विद्यार्थी झार्ने तथा चढाउने गर्नुका साथै सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बोक्ने गरेका समेत पाइएको छ।हामीले सचेत गराउने गरेका छौँ।”जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक थापाले बताए ।
सवारी चालक अनुमती पत्र(लाइसेन्स)नै नभएका सह चालकहरुले समेत स्कूल बस चलाउने गरेका केही सूचनाहरु आएका र उनीहरुलाई कडाई गर्ने काम गरि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको भनाई छ ।
“चलिरहेको स्कूल बसको ढोका बन्द भएको प्रायःपाइएको छैन,ट्राफिक नियम उल्लंघनसँगै स्कूल बस निर्देशिकाको सही पालना नभएको देखिएको छ।विद्यालयहरुले विद्यार्थी बोक्ने प्रयोजनका लागि सञ्चालन गरेका स्कुल बस तीब्र गतिका कारण दुर्घटना हुने,सवारीको अवस्था र क्षमताभन्दा बढी बोक्ने लगायतका समस्याहरु देखिने गरेका छन् ।”ट्राफिक प्रहरीले जनाएको छ ।
स्कूल बस निर्देशिकाको अक्षरशःपालना गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख तारापति खरेलले बताए ।उनले स्कुल बस निर्देशिकाको पालना भए÷नभएको अनुमगन पनि गरिने बताए ।यता,नीजि विद्यालय सञ्चालकहरुका साथै नीजि विद्यालय सञ्चालकका विभिन्न संग संगठनहरुले आफुहरुले स्कुल बस मापदण्ड अनुसार नै सञ्चालन गर्दै आएको दाबी गरेका छन् ।
पालना हुँदैन मापदण्ड
स्कूल बस निर्देशिका २०७४ ले स्कूल बसको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर भन्दा बढी कुनै पनि किसिमले चलाउन नपाइने व्यवस्था गरेको छ। सर्लाहीमा ट्राफिक जाँचका क्रममा शहरी क्षेत्रमा तोकिएको भन्दा बढी नै गतिमा स्कुल बस चल्ने गरेको देखिन्छ।२८ सिटे बसहरुमा पनि ३५ जनाभन्दा पनि बढी विद्यार्थी राखेर ओसार पसार हुने गरेको पाइएको छ । स्कूल बस निर्देशिका २०७४ ले १२ वर्षमुनिका विद्यार्थीहरुलाई एक दशमलव पाँच गुणा ओसार पसार गर्न सकिने र १२ बर्ष माथिका विद्यार्थीहरुलाई सिट क्षमताअनुसार बोक्नुपर्ने व्यवस्था गरेको छ,तर जिल्लामा २८ सिटे बसहरुमा ३५ जनाभन्दा पनि बढी विद्यार्थीहरु राखेर ओसार पसार हुने गरेको छ ।
निर्देशिकाले नै प्रत्येक विद्यार्थीहरुको लागि स्कूल बसको नम्बर,रुट र विसौनी उल्लेख भएको विद्यार्थीहरुको तस्विर सहितको परिचयपत्र जारी गरेको हुनुपर्नेछ भनेको छ तर अधिकांश नीजि विद्यालयका स्कुल बस चढ्ने विद्यार्थीहरुका लागि उल्लेखित विवरण सहितको परिचयपत्र वितरण नगरेको शिक्षाविद्धहरु बताउँछन्।निर्देशिकाले नै स्कूल बसको सबै सिट अगाडि फर्किएको हुनुपर्ने भनेको छ तर मन्टेश्वरीको नाममा चल्ने केही विद्यालयका साना भ्यानको भने सिट पछाडि फर्किएको पनि पाइन्छ।अर्को तर्फ प्रवेशद्वारको तल्लो सिंढी तीन सय मिलिमिटर भन्दा बढी हुन नहुने व्यवस्थाको पनि कतै कार्यान्वयन भएको पाइएको छैन। स्कूल बसको दुबै तर्फको झ्यालमा कम्तिमा तीनवटा गोलाकार ग्रील तेर्साे पारेर राखेको हुनुपर्ने भनिएको भएपनि केही स्कुल बसहरुमा भए पनि प्राय स्कूल बसहरुमा त्यस्तो राखेको पाइँदैन।निर्देशिकाले भने जस्तै सबै स्कूल बसभित्र विद्यार्थीहरुको झोला राख्न तखताको व्यवस्था हुनुपर्ने उल्लेख भए पनि प्रया स्कुल बसहरुमा तखता नहुँदा विद्यार्थीहरुले काखमै झोला राख्ने गरेका छन् ।अनिवार्य व्यवस्था गरेको फोहोर फाल्ने टोकरी,अग्नि नियन्त्रण उपकरण तथा प्राथमिक उपचार बक्स पनि कुनैपनि स्कुल बसहरुमा व्यवस्थित तरिकाले राखेको पाइँदैन । सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा ११५ अनुसार सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटर भन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन स्थानीय तहका शिक्षा प्रमुख,शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत सबै नीजि तथा सामुदायिक विद्यालयहरुलाई जानकारी गराउनु पर्ने व्यावस्था भएपनि सो कार्यन्वयन गर्न कुनै निकायले चासो राखेका छैनन् ।
निर्धारित गति भन्दा बढी गतिमा सवारी साधन चलाउने सवारी साधनहरुलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानुनी व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गराउने र सो को अनुगमन गर्ने तर्फपनि स्थानीय सरोकारवाला निकायहरु मौन देखिएका छन् ।

सम्बन्धित समाचार