सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको भएपनि गन्जागोल छ।पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत असोज ३ र ४ गते देशभर वडा अधिवेशनको मिति तोकिएको थियो । सर्लाहीमा भने पार्टीका जिल्ला सभापति डा.सरोज कुमार राय यादवले अन्तिम समयमा साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएपछि वडा अधिवेशनमा अन्यौलता सिर्जना भएको हो ।
नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले वडा अधिवेशन भद्रगोल बनेको स्वीकार गरेका छन्।अधिकांश ठाउँमा वडा कार्य समिति तथा वडाबाट छानिने क्षेत्रीय प्रतिनिधिका लागि करिब सहमति भए पनि औपचारिकता दिन बाँकी रहेको पनि कांग्रेस सर्लाहीका सचिव कार्कीले बताए।अनौपचारिक रुपमा भएका सहमतिलाई अब सकेसम्म आईतबार अन्तिम रुप दिएर सहमति भएका ठाउँहरुमा वडा अधिवेशन सम्पन्न गर्ने उद्देश्य रहेको सचिव कार्कीले बताए ।
११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी सर्लाहीका २० वटा पालिकाहरुमा दुई सय वटा वडाहरु रहेका छन् भने १२ वटा स्थानीय तहहहरुमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको भएपनि सर्लाहीमा कांग्रेसका नेताहरु बिच क्रियाशील सदस्यताका लगायतका विषयमा चर्को विवाद देखिएको छ ।
सोही विवादका कारण पार्टीका जिल्ला सभापति डा.सरोज र क्षेत्र नं. २ (ख) का क्षेत्रीय सभापति भिखारी ठाकुरले पदबाट राजिनामा दिएका हुन्।उनीहरु दुवै जनाले केन्द्रीय सभापति गगन कुमार थापालाई सम्वोधन गरी लेखेको राजिनामा पत्रमा क्रियाशील सदस्यता विवादको विषय उल्लेख गरिएको छ ।