बागमतीमा अत्याधुनिक आँखा अस्पताल उद्घाटन

660 Shares

सर्लाहीको बागमतीमा अत्याधुनिक आँखा अस्पताल संचालनमा आएको छ।बागमती नगरपालिका १२ स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा अत्याधुनिक आँखा अस्पताल उद्घाटन गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए ।उनका अनुसार बागमती लगायत सर्लाहीका नागरिकलाई सुविधा पुर्याउने उद्देश्य सहित क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटन गरिएको हो ।
सर्लाहीमा अत्याधुनिक आँखा अस्पताल नहुँदा यस क्षेत्रका नागरिकहरुले आँखा उपचारको लागि काठमाडौँ लगायत ठुला सहर धाउनु पर्ने बाध्यातालाई अन्त्य गर्न अत्याधुनिक आँखा अस्पताल सञ्चालन गरीएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले बताए ।उनका अनुसार रु एक करोड ३० लाख लागतमा संचालनमा आएको अत्याधुनिक आँखा अस्पतालले कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्ने देखी चस्मा बनाएर वितरण गर्ने तथा मोतिया बिन्दुको शल्यक्रिया गर्ने सम्मको सम्पूर्ण सुविधा प्रदान हुने छ ।
अत्याधुनिक आँखा अस्पताल संचालनको लागि स्वास्थ्य चौकीले एउटा ओपिडि,एउटा औषधी तथा चस्मा पसल र एउटा शल्यक्रिया कोठा उपलब्ध गराएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।शाखाका अनुसार अत्याधुनिक आँखा अस्पताल उद्घाटनको अवसरमा भएको निःशुल्क शिविरमा तीन सय ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया समेत गरिएको छ । सम्पन्न शिविरमा तीन सय ६१ जना मोतियाबिन्दु भएका विमारीको निःशुल्क शल्यक्रिया गरिएको हो । 
गत असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमती सहित सर्लाहीका अन्य पालिका र छिमेकी जिल्ला रौतहट र सिन्धुलीका नागरिकहरुलाई समेत सेवा प्रवाह हुने नगरपालिकाले जनाएको छ ।नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा आँखा प्रतिष्ठान,तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर संचालन गरिएको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले जानकारी दिए ।उनका अनुसार शिविरमा तिलगंगा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका थिए ।

सम्बन्धित समाचार