Close This

बरहथवामा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न, ३ सय ६० लाभान्वित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-११ गते   २६१ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक दिने निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ ।  प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा स्तन र पाठेघर सम्बन्धी समस्या भएका स्थानीयवासी लाभान्वित भएका छन् ।
शिविरमा शरीरका विभिन्न अंग तथा महिलाहरुको स्तन र पाठेघरको निःशुल्क क्यान्सर परीक्षणलगायत सामान्य किसिमको रोग, स्त्रिरोग, नशा, हाडजोर्नी सम्बन्धि रोगको स्वास्थ्य परीक्षण गरिएको आयोजकले बताएको छ । निःशुल्क स्वासथ्य परिक्षण शिविरबाट ३ सय ६० जना लाभान्वित भएका बरथवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये  २ सय जनाले क्यान्सर रोगको जाँच गराएका छन् भने १ सय ६० जनाले अन्य रोगको परीक्षण गराएका बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका डा.निर्मल लामिछानेले जानकारी दिनु भयो ।
परीक्षणबाट १२ जना क्यान्सर रोगी भेटिएका डा.लामिछानेले बताउनु भयो । जिल्लाको हजरिया, मानपुर, बरहथवा, सीतापुर, मुर्तिया, जानकीनगर, लौकठका स्थानीय शिविरबाट लाभान्वीत भएका बरथवाबाट निकेश त्रिपाठीले जानकारी दिनु भयो ।  निःशुल्क स्वास्थ्य परीक्षणसहित विभिन्न प्रकारका औषधि समेत प्रदान गरिएको आयोजक लायन्स क्लव अफ सर्लाही बरहथवाका अध्यक्ष अमरेन्द्र सिंहले बताउनु भयो ।
 भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. लामिछाने, उमेश नेपाल, सुशिल अधिकारी, गुरुशरण शाहलगताका जेनेरल फिजिसिएनको टोली स्वास्थ्य परिक्षणका लागि बरथवा आएको थियो । लायन्स क्लव अफ सर्लाही बरहथवाको आयोजना तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोग र बरहथवा नगरपालिकाको सहयोगमा शिविर सञ्चालन भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech