सर्लाहीको हरिवनबाट चोरी भएको ट्याक्टर बलराबाट बरामद् भएको छ । चैत ९ गते हरिवन नगरपालिका–११, बासाटोलबाट हराएको ट्याक्टर बलराबाट प्रहरीले बरामद् गरेको छ ।
हरिवन नगरपालिका ११ बासाटोलका भीमबहादुर कटुवालको ना ७ त ४१४३ नम्वरको ट्याक्टर चोरी भएको थियो । ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ जिल्लाका सबै प्रहरी युनिटहरुमार्फत खोजतलास तीव्र पारेको सर्लाही प्रहरीले बुधबामर साँझ बलरा नगरपालिका–७, अर्नाहाबाट बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरी चौकी अर्नाहाको टोलीले ट्याक्टरसँगै चोरीमा संलग्न ५ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–११ का १९ वर्षीय आजम हुसेन, बलरा नगरपालिका–५, का २५ वर्षीय रामईश्वर साह, सोही ठाउँका २० वर्षीय सिकिन्द्र साह, २० वर्षकै प्रदीप साह र रामनगर गाउँपालिका–५, का २३ वर्षीय लखिन्द्र पण्डित रहेका सर्लाही प्रहरीले जनाएको छ । उनीहरु पाँचै जनाविरुद्ध चोरी मुद्वामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।