कोरोनाको सङ्क्रमण २ सय १० देशमा, यमनमा पहिलो सङ्क्रमित भेटियो

1.9k Shares

कोरोनाको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ ।यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औलोसहित केही रोगका बिरामी यमनमा पहिलेदेखि नै छन् ।

तर वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य सुविधा लगभग नभएको भन्दै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् । गैरसरकारी संस्था अक्सफामले यमनमा कोरोना सङ्क्रमित भेटिनु निकै ठूलो झट्का भनेको छ भने अन्तर्राष्ट्रिय उद्धार समितिले यसलाई नराम्रो सपना भनेको छ ।

यसैबीच २ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

१ लाख २ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।| उज्यालो

सम्बन्धित समाचार