रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हालसम्म एक हजार चार सय तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण सार्वजनिक गरेको हो ।फेला परेका मृतकको विवरणमा पाँच सय ४४ पुरुष,तीन सय ३६ महिला तथा पाँ सय २३ वटा आंशिक मानव अंगहरू रहेका छन्।बाढीमा परेर अझै छ हजार एक सय ५० जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै चितवनमा तीन सय ९४ जनाको मृत्यु भएको छ । यस्तै,नवलपरासी पूर्वमा दुई सय ३२ जना,नवलपरासी पश्चिममा दुई सय २२ जना,नुवाकोटमा दुई सय दुई जना,रसुवामा एक सय ९३ जना,गोरखामा ७८ जना,धादिङमा ७२ जना तथा तनहुँमा ३८ जनाको ज्यान गएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।यस्तै,उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको छ।खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार सात सय ४२ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
घाइतेहरूको उपचार तथा स्वास्थ्य व्यवस्थापनतर्फ हाल विभिन्न १९ वटा अस्पतालमा तीन सय ४४ जना उपचाररत छन् भने दुई सय ८९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।सुरक्षा निकायहरूबाट नौ हजार सात सय जनालाई प्राथमिक तथा आकस्मिक उपचार सेवा प्रदान गरिएको छ।शव पहिचानका लागि एक हजार दुई सय ८६ मृतक तथा एक हजार आठ सय ८९ आफन्तको डीएनए नमुना संकलन भइसकेको छ ।डीएनए परीक्षणका लागि आफन्तहरूले दुई प्रति फोटो र नाता प्रमाणित सहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।उद्धार कार्यमा नेपाली सेनामार्फत हालसम्म एक हजार चार सय तीन र सशस्त्र प्रहरी बलमार्फत तीन सय २० वटा हवाई उडान सम्पन्न भएका छन् ।
प्रभावित क्षेत्रमा हाल २९ वटा होल्डिङ सेन्टरहरू सञ्चालनमा रहेका छन्।जसमा नुवाकोटमा एक हजार एक सय ८५,रसुवामा आठ सय १७ र धादिङमा ९४ जना आश्रित छन् । होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेल बढीमा छ महिनासम्मका लागि सरकारले थप नगद राहत उपलब्ध गराउने भएको छ।जसअन्तर्गत चार जनासम्मको परिवारलाई मासिक रु १५ हजार र चार भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप रु.दुई हजारका दरले राहत रकम प्रदान गरिने प्राधिकरणले जनाएको छ ।
यसैबीच प्रभावित जिल्लाहरूमा सडक तथा हवाईमार्ग मार्फत राहत सामग्री ढुवानीलाई निरन्तरता दिइएको छ।नुवाकोटको देवीघाटमा “एक्रो ब्रिज”जडान गरी सडक सञ्चालनमा ल्याइएको छ भने इन्धन आपूर्तिका लागि ५९ हजार लिटर डिजेल,१५ हजार लिटर पेट्रोल र छ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।हालसम्म प्रभावित क्षेत्रमा पाँच सय दुई थान ग्यास सिलिन्डर समेत पठाइ सकिएको प्राधिकरणले जनाएको छ ।प्रधानीमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि ठूलो रकम संकलन भएको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्ले जनाएको छ ।