भारतीय एसएसबी रोडका कारण मधेश डुबानको जोखिममा,नेपाली पक्ष बेखबर

187 Shares

अन्तर्राष्ट्रिय सीमा कानुन,द्विपक्षीय सन्धि–सम्झौता र सीमा व्यवस्थापनका सर्वमान्य सिद्धान्तहरूको खुलेआम धज्जी उडाउँदै भारतीय पक्षले सीमा क्षेत्रमा निर्माण गरिएका एकतर्फी संरचनाहरूका कारण तराई–मधेश क्षेत्र भयानक बाढी र डुबानको उच्च जोखिममा परेको छ।सीमा सुरक्षा बल (एसएसबी) को प्रत्यक्ष निगरानी र सहभागितामा निर्माण गरिएको नेपाल भारत सीमा क्षेत्रको एसएसबी सडकका साथै अन्य अग्ला संरचनाहरु नेपाली भू–भागका लागि“मृत्युजाल”साबित भएका छन्। 
तर,सार्वभौमसत्ता र जनताको जीवनरक्षाको पहरेदार बन्नुपर्ने नेपाली राज्य संयन्त्र र प्रशासन भने पूर्ण रूपमा बेखबर र मौन दर्शक बनेको स्थानीयको आरोप छ।नेपाल–भारतको सर्लाहीमा मात्रै करिब ५५ किलोमिटर एसएसबी सडक निर्माण भएको छ ।जुन सडक मात्र नभएर नेपालबाट भारततर्फ निकास हुने पानी रोक्ने बाँध समेत हो ।
अन्तर्राष्ट्रिय सीमा सिद्धान्त तथा नेपाल र भारतबीच भएका विभिन्न परम्परागत तथा समसामयिक सन्धि–सम्झौताहरूले सीमावर्ती क्षेत्रमा एकतर्फी भौतिक संरचना निर्माण गर्न कडा रोक लगाएका छन्।सन् १९५० को शान्ति तथा मैत्री सन्धि,कोशी तथा गण्डक सम्झौता लगायत द्विपक्षीय सहमतिहरूले सीमा नदीहरूको प्राकृतिक बहाव रोक्ने वा सीमापारि असर पार्ने गरी कुनै पनि स्थायी संरचना बनाउँदा दुवै देशको सहमति अनिवार्य हुनुपर्ने व्यवस्था गरेका छन्।संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय जलमार्ग महासन्धि तथा सीमा नदी व्यवस्थापनका विश्वव्यापी मान्यताहरूले पनि छिमेकी राष्ट्रको भूभाग डुबानमा पर्ने गरी प्राकृतिक बहावमा फेरबदल गर्न निषेध गरेका छन्।
यद्यपि,भारतले यी सबै अन्तर्राष्ट्रिय कानुन र द्विपक्षीय समझदारीलाई ठाडै लत्याउँदै दशगजा क्षेत्र र त्यसको आसपासका भू–भागमा वैज्ञानिक वातावरणीय प्रभाव मूल्यांकन विना नै सडकहरू तथा अन्य अग्ला स्थायी संरचनाहरु निर्माण गरेको छ।पानीको प्राकृतिक निकासलाई अवरुद्ध गर्ने गरी बनाइएका यी संरचनाहरू सरासर अन्तर्राष्ट्रिय कानुन विपरीतको गैर–कानूनी हर्कत हुन्।
भारततर्फबाट सीमा नजिकै बनाइएका यस्ता अग्ला स्थायी संरचनाहरुका साथै एसएसबी रोड हरूले नेपालतर्फबाट बग्ने सयौं साना–ठूला खोला,ढल र भलहरूको प्राकृतिक निकास थुन्दिएका छन्।यी अवरोधहरूका कारण मधेश प्रदेशका साथै कोसी,कर्णाली लगायत प्रदेशका सीमावर्ती जिल्लाहरुका हजारौं हेक्टर कृषियोग्य जमिन र बस्तीहरू वर्षा लाग्नासाथ जलमग्न हुने गरेका छन् ।
सीमा वारीपारि पानी थुप्रिएर आउने र निकास नपाउने समस्याले गर्दा मधेशका नागरिकहरू सधैं त्रसित जीवन बिताउन बाध्य छन्।किसानहरूको वर्षभरिको श्रम र अन्नबाली नष्ट हुने मात्र नभई बर्सेनि सयौं परिवार विस्थापित हुनुपर्ने पीडाको मुख्य कारक यही भारतीय हेपाहा प्रवृत्ति बनेको सीमा क्षेत्रका बासीहरुको आरोप छ ।
उनीहरुका अनुसार सीमामा खुलेआम अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भइरहँदा र मधेश डुबानको संकटमा पर्दा पनि नेपाल सरकार,परराष्ट्र मन्त्रालय र स्थानीय प्रशासनको मौनता अत्यन्तै शंकास्पद र गम्भीर छ।सीमा स्तरोन्नति र सुरक्षाको नाममा भइरहेको यो अतिक्रमणलाई रोक्न कूटनीतिक च्यानलबाट कडा प्रतिवाद गर्नुपर्नेमा सम्बन्धित निकायहरू सत्ता र कुर्सीको खेलमा मस्त रहेको स्थानीय बताउँछन्।नागरिक समाज र स्थानीय जनताले बारम्बार यस विषयमा आवाज उठाउँदा पनि नेपाल तर्फका सरोकारवालाहरु मौन छन् ।
यदि समयमै नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरू र द्विपक्षीय कूटनीतिक टेबलमा यो मुद्दा जोडदार रूपमा उठाएर यी अवैज्ञानिक संरचनाहरू नभत्काए,आगामी दिनमा मधेशले ठूलो मानवीय र भौतिक क्षति ब्यहोर्नुपर्ने निश्चित रहेको जानकारहरु बताउँछन्।जनताको जीवनमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन र सरकारको यो राष्ट्रघाती मौनता सह्य  पनि नभएको सीमाबासीहरुको भनाई छ ।

सम्बन्धित समाचार