संविधान दिवशको अवसरमा सिन्धुलीका कार्यालय प्रमुखहरुले अन्तरक्रिया कार्यक्रम गरेका छन् ।नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पुरा गरी ११ वर्ष प्रवेश गरेको अवसरमा नेपालभर असोज ३ गते संविधान दिवश मनाउने गरिएको छ।सोही अनुसार संविधान दिवशको पूर्वसन्ध्यामा सिन्धुलीका कार्यालय प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।उनका अनुसार संविधान जारी भएको दिन असोज ३ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा झण्डोत्तोलन कार्यक्रम गर्ने साथै साँझ दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
दिवशको अवसरमा दशैँ तथा तिहारको विदामा जाने कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था मिलाई पालोपहराको व्यवस्था मिलाउने र सो पालोपहरामा खटिने कर्मचारी,निजको सुपर भाइजर र कार्यालय प्रमुख सम्पर्क मै रहने विषयमा समेत छलफल हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
“जेन जी”पुस्ताको देशव्यापी आन्दोलनको क्रममा भदौ २३ र २४ गते कार्यालयमा भएको क्षतिको एकिन विवरण यथासिघ्र तयार गरि पठाउने,“जेन जी”पुस्ताको देशव्यापी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कार्यालयहरुले जे जस्तो अवस्थामा छ त्यही अवस्थामा भएपनि सेवा प्रवाह सुरु गर्ने, “जेन जी”पुस्ताको देशव्यापी आन्दोलनको क्रममा क्षति भएका कार्यालयहरुलाई फर्निचर लगायत कम्प्युटर,उपकरण,सामाग्रीहरु अन्य कार्यालय तथा संघ संस्थाहरुसँग सहयोग गर्न आव्हान गर्ने र कार्यालयहरुबाट नागरिकले पाउने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने विषयमा पनि छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
उनका अनुसार विकास आयोजना सम्बन्धि कार्यालयहरुले आ–आफ्नो कार्यलाई तत्काल अगाडी बढाउने र मनसुनको समय अझै कायम रहेकोले विपद् व्यवस्थापनका कार्यमा संलग्न कार्यालयहरु तयारी अवस्थामा रहने र सम्भावित विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरि तयारी अवस्थामा रहने विषयमा समेत छलफल हुने छ ।