आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार सर्लाहीका चार वटै निर्वाचनमा उम्मेदवारी दर्ता गरेका एक सय ३३ जना उम्मेदवाहरु मध्य कुनै पनि उम्मेदवार विरुद्ध उजुरी दर्ता नभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक सय ३३ जनाले उम्मेदवारी दिएकामा उनीहरु विरुद्ध बुधबार उजुरीको समय दिईएकोमा कुनैपनि उम्मेदवार विरुद्ध उजुरी नगरेको हो ।
मंगलबार मनोनय पत्र दर्ता गराएका उम्मेदवारहरु विरुद्ध बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृत समक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका,२०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता गर्नुपर्ने भएपनि सर्लाहीका कुनै उम्मेदवारहरु विरुद्ध उजुरी नपरेको हो ।
निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशन गर्नुपर्ने भएपनि उजुरी नै नपरेपछि सो कार्य गर्न समस्या नभएको निर्वाचन अधिकृतको कार्यालयहरुले बताएका छन् ।आयोगका अनुसार माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट एक सय ३३ जनाले मनोनयन दर्ता गराउँदा जम्मा छ जना महिलाले मात्रै उम्मेदवारी दिएका छन् ।