फुटबल खेलाडी गणेश,तेस्रो पटक जनप्रतिनिधि बन्न सफल

287 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–१६ का गणेश बहादुर थापा संघीय अभ्यास सुरु भएयता भएको दुईवटै स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भए।खेलको पछाडी लागेर बीचमै पढाइ छोडेका थापालाई जनताको मायाले नछोड्दा लगातार तीन पटकसम्म वडा अध्यक्ष भएर तीनै जनताको सेवा गर्ने मौका प्राप्त भयो ।संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनमा लगातार दुई पटक र त्यसअघि २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पनि थापा वडा अध्यक्ष निर्वाचित भएका थिए ।
वि.सं. २०२७ सालमा बुवा तेज बहादुर थापा र आमा सूर्य कुमारीको कोखबाट जन्मेका थापाले गाउँकै डीम जनता मावि परवानीपुरबाट एसएलसीसम्मको पढाइ पुरा गरे।आइए पढ्न काठ्माडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भएपनि मन खेलमै अल्झिरहयो।कलेज पढेपनि आइए पढेको प्रमाणपत्र भन्दा थापालाई तेक्वान्दोको बेल्टले नै प्यारो लाग्यो । थापालाई तत्कालिन समयमा पढेर जागिर खानुभन्दा उपयुक्त खेलाडीको पहिचान बनाउन महत्वपुर्ण लाग्यो। पढाइ अघि बढ्न सकेन र गाउँ फर्केर आफू खेल्ने अनि बालबालिकालाई खेलाउने काममा उनी व्यस्त हुन थाले । 734528501_2089269641988169_4825841164371856989_n.jpg
त्यसैबीच पञ्चायती व्यवस्थाविरुद्ध गाउँमा चलिरहेको अभियानले उनलाई आकर्षीत बनायोे ।तत्कालीन“एकता केन्द्र”को भूमिगत संगठनले गाउँमा प्रभाव जमाइरहेको थियो । कम्यूनिष्ट नेता निर्मल लामा नेतृत्वको उक्त समूहले पञ्चायत विरुद्ध जनमानसमा प्रभाव बढाइरहेको थियो।त्यहीँ अभियानमा थापा पनि जोडिए।पञ्चायती व्यवस्था अन्त्य र बहुदलीय राजनीतिक व्यवस्था कायम गराउन वकालत गर्दै उनी सामाजिक सेवा कार्यमा जुटिरहे।एकता केन्द्रको परवानीपुर गाविस एकाइ कमिटी अध्यक्ष भएर काम गर्दा गर्दै बहुदल आयो । 
एक चरणको संघर्षले मूर्त रुप लिएपछि थापाले परवानीपुर युवा क्लवको अध्यक्ष भएर सामाजिक कार्यमा जुट्ने मौका पाए।समाजमा व्याप्त कुरीति निर्मुल पार्दै जनसरोकारका मुद्दाहरुको पक्षमा वकालत गर्न थालेका थापा २०५४ सालमा परवानीपुर गाविसको वडा अध्यक्षमा चुनाव लडे। जनमोर्चा पार्टीबाट चुनाव लडेका उनले पहिलो पटक जननिर्वाचित वडा अध्यक्षको पहिचान प्राप्त गरे।त्यसपछिको २० वर्षसम्म स्थानीय चुनाव हुन नसकेपनि उनी जनताको सुख दुखको साथी भएर समुदायमा जोडिइरहे ।
पहिलो पटक उनी निर्वाचित भएको व्यवस्था फेरिएर गणतन्त्र नेपालमा जनताका प्रतिनिधिले बनाएको संविधान जारी भइसकेपछि २०७४ मा फरक शैलीको चुनाव भयो।तत्कालिन परवानीपुर गाविस पछि लालबन्दी नगरपालिकाको दुई वटा वडाको रुपमा विभाजित भइसकेको थियो।तत्कालिन जनमोर्चा नेपाल पनि नेकपा (एकीकृत माओवादी)को रुपमा आइसकेको थियो ।लालबन्दी नगरपालिका १६ को नेतृत्व गर्न माओवादीबाटै थापालाई चुनाव लड्ने मौका मिल्यो र उनी फेरी निर्वाचित भए।दुई दशक अघि निर्वाचित वडा अध्यक्ष र यस पटकको पदको नाम उस्तै सुनिएपनि गरिमा फराकिलो थियो।सोही अनुरुपको जिम्मेवारी पनि बढेर आयो।लालबन्दी नगरपालिका –१६ को वडा अध्यक्ष जितेपछि थापाले “एक घर एक धारा” कार्यक्रम चलाए।त्यस अधि खानेपानीको चरम अभाव झेलिरहेका गाउँबासीले थापाको नेतृत्वमा ठूले राहत पाए उपहार स्वरुप अर्को पटक २०७९ को निर्वाचनमा पनि थापालाई थप पाँच वर्षका लागि भनेर वडा अध्यक्षको रुपमा वडाका जनताले जिताइ दिए । 
तेस्रो पटक जननिर्वाचित प्रतिनिधिको हैसियतमा पुगेका थापाले “उज्यालो वडा”कार्यक्रमदेखि भौतिक पूर्वाधार विकास तर्फ कुनै काम बाँकी नरहने गरी काम गरिरहेका छन्।आवश्यकता अनुसारको बजेट उपलब्ध नभएपनि वर्तमान कार्यकालको अन्त्यसम्म पुग्दा शिक्षा,स्वास्थ्य,सडक,सरसफाई तथा खानेपानी र कृषि क्षेत्रमा करिब भौतिक पूर्वाधार पुरा गरिसक्ने योजना उनको छ ।
करिब तीन दशक अगाडि एउटा गाउँ विकास समिति (गाविस) को वडा अध्यक्ष हुनु र यतिवेला नगरपालिको वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा आकाश पतालको फरक रहेको उनले अनुभूति गरिरहेका छन् ।त्यतिबेला एकजना वडा अध्यक्षले पञ्जाधिकारीको रुपमा नागरिकता,जन्मदर्ता,बसाईसराई र मृत्युदर्ता प्रमाण पत्रहरु सिफारिस गर्थे।वडा कार्यालय हुदैन् थियो ।यी कामहरु आफ्नो घर अथवा बाटो घाटोमा पनि गरि दिन्थे अहिलेको व्यवस्थाले वडा अध्यक्षलाई धेरै जिम्मेवारी दिएको उनलाई महसुस भइरहेको छ। 
स्थानीय सरकारको लागि भुइँतहमा बसेर जनताका हरेक सुख,दुखमा सहभागी हुनुका साथै विकास तथा कानूनी प्रक्रियाहरुमा समेत साक्षीपात्रको रुपमा वडा अध्यक्षलाई राख्ने गरिन्छ। यसका लागि वडा कार्यालयको व्यवस्था गरी तिनलाई सहयोग गर्न जनताबाटै जितेर आउने सदस्यहरु र प्रशासनिक सहजीकरणका लागि आवश्यक कर्मचारी पनि बन्दोबस्त गरिएको छ। त्यतिबेला सिंगो गाविसमा तीन लाखको बजेट आउँदा ठूलै हल्लाखल्ला मच्चिन्थ्यो भने अहिले एउटै वडामा प्रतिवर्ष करिब एक करोड र सोभन्दा बढीको बजेट पनि परिचालन भइरहेको छ ।
अन्य सवालमा पहिलेको भन्दा अहिले सुधार भएपनि जनश्रमदानको अवस्थाले भने थापाको चित्त बुझ्न सकिरहेको छैन।कागजी प्रक्रियामा जनश्रमदानको व्यवस्था भएपनि अहिले श्रमदान गर्ने संस्कृति करिब अन्त्य भएको उनको तितो अनुभव छ।आफ्नो लागि हुने विकास कार्यमा जनता आफैले प्रत्यक्ष रुपमा श्रमदान गर्दा सार्वजनिक सम्पत्ति संरक्षण गर्न जिम्मेवार हुन्थे। अहिले हुँदै गरेको काम र निर्मित संरचनाप्रति पनि जनताको असली स्वामित्व प्रकट हुन नसकिरहेको उनको भनाई छ ।
जिल्ला फुटवल संघको उपाध्यक्ष,कार्यवाहक अध्यक्ष हुँदै जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरेका थापाले वडा अध्यक्ष भएपनि वडाका बालबालिकालाई विभिन्न खेलकुदमा सहभागी गराइरहेका हुन्छन्।लामो बिदाको समयमा विभिन्न खेलकुदका प्रतियोगिता आयोजना गरी बालबालिकाहरुलाई कुलतबाट जोगाउन र शारिरीक तथा मानसिक स्वास्थ्यप्रति उनी सचेत छन्।लगातार तीन पटकसम्म लालबन्दी नगरपालिका–१६ ले नै नगर कपमा कब्जा जमाइरहेको छ। जिल्लास्तरीय प्रतियोगिताहरुमा उनको वडाको प्रदर्शन उत्कृष्ट मानिन्छ ।
यसरी जीवनको अधिकांस समय राजनीति र सामाजिक सेवामै समर्पित गरेका थापाले यो कर्मलाई अर्थोपार्जन गर्ने पेशा भने कहिल्यै बनाएनन्।उनको बुझाइमा राजनीतिमा लागेकाहरुले आर्थिक पारदर्शिताको सवालमा झन वढी गम्भिर हुन आवश्यक छ।बुवाले जोडिदिएका करिब २० विघा जग्गाको उत्पादन थापा परिवारको मुख्य आयश्रोत हो ।
यस वाहेक श्रीमती शिक्षण पेशामा आवद्ध भएकी र भाइ भतिजाहरु प्रायःयुरोपीयन देशमा काम गर्ने भएकाले उनलाई घरपरिवार चलाउन भनेर कहींकतै आर्थिक हिनामिना गर्नुपर्ने बाध्यता आइपरेको छैन।परिवारका दुई जना इन्जिनियर अष्ट्रेलियामा कार्यरत रहेको थापाकी छोरी अष्ट्रेलियामै तथा एक छोरा नेपालमा स्नात्तक अध्ययनरत छन् ।
लगातार तीन पटक (ह्याट्रीक) वडा अध्यक्षको पहिचान बनाइसकेपछि प्राप्त गरेको अनुभव समेतको आधारमा नगर प्रमुख पदका लागि उम्मेदवार भए हुन्थ्यो।यसका लागि पार्टीले प्रस्ताव गरे उम्मेदवार हुन तयार रहेपनि पदमा पुग्नकै लागि मरिहत्ते गर्ने पक्षमा उनी छैनन्।“यतिका दिनसम्म जनताको माया पाएर वडा अध्यक्ष भइरहें।सकेको जति जनताको जीवनशैलीमा सुधार ल्याउने गरी काम पनि गरेकै छु”उनी भन्छन्,“आउने चुनावमा पार्टीले प्रस्ताव गरे नगर प्रमुख पदमा चुनाव लड्ने र प्रस्ताव नगरेपनि वा पदमा नबसेर पनि जीवनभर जनताको सेवामा लागिरहनेछु।”थापाले भने ।
अहिलेसम्म वडामा गरेका प्रमुख कामवारे चर्चा गर्दा “एक घर एक धारा”“उज्यालो वडा” लगायतलाई पहिलो कामको रुपमा उच्चारण गरिन्छ।खोलाको मुहानबाट दुखगरी पानी ल्याउनुपथ्र्यो ।चैत–वैशाखमा मुहान सुकेपछि गाउँ छेउको भैंसी आहाल बस्ने कुलोको पानी खान विवश थिए परवानीपुरका बासिन्दा,त्यतिमात्र नभएर सामुहिक स्थलबाट पानी लिन जानेहरुबीच विभिन्न बहानामा झै झगडा भइरहने अर्को समस्या थियो।खानेपानीको एकीकृत व्यवस्थापन गर्दै घर–घरमै धारा पुर्याइदिएपछि थापाले ठूलो राहत महसुस गरेकाछन्।वडा अध्यक्ष थापाकै अगुवाइमा बर्थिङ सेन्टरसहितको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ। त्यहाँ नगरभरिमै सबैभन्दा बढी भिड लाग्ने भरपर्दो स्वास्थ्य सेवा केन्द्र बनेको छ ।
त्यस्तै, दुई वटा मा.वि. विद्यालय र एउटा प्रा.वि विद्यालय गरी तीन वटा सामुदायिक विद्यालय रहेको यस वडाले शिक्षामा पनि उदाहरणीय पहिचान बनाएको छ।एउटा विद्यालय सर्लाही जिल्लाकै उत्कृष्ट मानिएको छ भने अर्को रिजल्टको आधारमा पालिकाको दोस्रो हुने गरेको छ ।अन्य वडाहरुको तुलनामा चेतनास्तर राम्रो रहेको परवानीपुरका बालबालिका र युवालाई पढाइसँगै खेलकुदको उचित व्यवस्थाले कुलतमा फस्ने तथा अन्य अपराधिक क्रियाकलापमा सहभागी हुने अवसरबाट बञ्चित गरिएको छ।समुदायलाई अनुशासित बनाउन राज्यको तर्फबाट पाउनुपर्ने आधारभूत सेवामा औसत पहुँच कायम गरिदिने र बालबालिकालाई व्यस्त राख्न सक्नुपर्ने बुझाई थापाको छ ।
परवानीपुरमा उज्यालो वडा अभियान चलाइयो सार्वजनिक स्थलमा बत्ती र सुरक्षाका लागि सिसिटिभि क्यामेरा जडान गरियो।वडा सरसफाई अभियान पनि निरन्तर जारी छ।प्रत्येक घर परिवारले मासिक रु ३० जम्मा गरी वडाको फोहोर संकलन तथा व्यवस्थापन गर्दैआएका छन् ।संकलित फोहोरलाई गाउँ छेउको खोलामा ल्याण्डफिल मोडेलको उपयोग गर्दै डिस्पोज गरिन्छ।
भोलिका दिनमा नगर प्रमुखको जिम्मेवारी प्राप्त भए शैक्षिक र सडकको स्तरवृद्धिलाई प्राथमिकतामा राख्ने उनको योजना छ।सडकले नागरिकको दैनिक जीवन सहज गर्नुका साथै कृषिजन्य उत्पादनमा वृद्धि ल्याउन मद्दत पुग्ने उनको विश्वास छ।उनको बुझाइमा शैक्षिकस्तरमा सुधार ल्याउन सके नगरको भविष्य स्वतःउज्ज्वल हुँदै शान्ति र समृद्धिको सपना साकार हुनेछ।शिक्षा,स्वास्थ्य र पुर्वाधारको विकाससंगै स्थानीय कृषिजन्य उत्पादनलाई उचित बजार दिन सके नागरिकको जीवनस्तर आफैँ माथि उठ्ने उनको भनाई छ ।

सम्बन्धित समाचार