Close This

तराईँ मधेसमा हर्षोल्लासकासाथ आज होली मनाइँदै,प्रदेश सरकारद्धारा सार्वजनिक विदा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१६ गते   २४८ पटक हेरिएको

रंग,सद्भाव,भाइचारा,समानता र निष्छलताको पर्व होली(फागुपुर्णिमा)  तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रगरशको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ ।
पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रगरशले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन गरेको पाइन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ ।
होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ । त्यस्ता इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकहरुले आग्रह गरेका छन्। होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज प्रदेश नं. २ प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech