सूचना लुकाउँदै सिन्धुलीका १९ वटा कार्यालय,नागरिकको सूचनाको हक उल्लंघन र भ्रष्टाचार बढेको आशंका

459 Shares

सिन्धुलीका ४३ वटा सरकारी कार्यालयहरु मध्य १९ वटा कार्यालयहरुले चौथो त्रैमासिक स्वतःप्रकाशन नगरेका पाइएको छ।२० वटा संघीय कार्यालयहरु मध्य पाँच वटाले,१४ वटा प्रादेशिक कार्यालयहरु मध्य आठ वटाले र नौ वटा स्थानीय तहहरु मध्य छ वटाले आर्थिक वर्ष २०८१/०८२ को चौथोे त्रैमासिक स्वतःप्रकाशन नगरेका जिल्ला अनुगमन ईकाई सिन्धुलीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए ।
उनका अनुसार सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका २०७६ को दफा ६ बमोजिम गठन भएको जिल्ला अनुगमन ईकाई सिन्धुलीको सोमबार बसेको बैठकले सिन्धुलीका सरकारी तथा सार्वजनिक निकायको सूचनाको हक सम्बन्धी प्रावधानको परिपालनाको अवस्था, सूचना अधिकारीको वैठकको निर्णय कार्यान्वयन र स्वतःप्रकाशनका सम्वन्धमा छलफल तथा समिक्षा गर्दै सूचनाको हक सम्बन्धी व्यवस्थाको कार्यान्वयनको अवस्थामा सुधार भएपनि प्रभावकारी बनाउन थप प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
सिन्धुलीका सबै सरकारी कार्यालयहरुको चौथो त्रैमासिक स्वतः प्रकाशनको अनुगमन गर्दा संघीय २० कार्यालयहरु मध्ये १५,प्रादेशिक १४ कार्यालयहरु मध्ये छ तथा नौ वटा स्थानीय तहहरु मध्ये तीन वटा निकायहरुले मात्रै स्वतःप्रकाशन गरेको पाइएको र कानून बमोजिम स्वत प्रकाशन नगर्ने १९ वटा निकायहरुलाई सो कार्य कानुन बमोजिम यथाशीघ्र गर्न लेखि पठाउने निर्णय समेत गरेको जिल्ला अनुगमन ईकाई सिन्धुलीका सदस्य एवम जिल्ला समन्वय अधिकारी तिर्थराज पौडेलले जानकारी दिए ।
उनका अनुसार जिल्ला अनुगमन ईकाई सिन्धुलीको बैठकले सरुवा,बढुवा तथा पदस्थापन लगायतका कारणले सूचना अधिकारी परिवर्तन भएको खण्डमा यथाशीघ्र नयाँ सूचना अधिकारी तोकी जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयलाई जानकारी गराउन जिल्लाका सबै सरकारी कार्यालयहरुलाई लेखी पठाउने समेत निर्णय गरेको छ ।
यता,जिल्लाका ४३ वटा कार्यालयहरु मध्य २५ वटा कार्यालयहरुले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका थिए ।यस अघि नौ वटा स्थानीय तहहरु मध्य पाँच वटा स्थानीय तहहरुले,१४ वटा प्रादेशिक कार्यालयहरु मध्य पाँच वटा कार्यालयहरुले र २० वटा संघीय कार्यालयहरु मध्य १५ वटा कार्यालयहरुले आर्थिक वर्ष २०८१÷०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका थिए।तेस्रो स्वतःप्रकाशनको तुलनामा चौथो स्वतः प्रकाशन  नगर्ने कार्यालयहरुको संख्या बढेको छ ।
कुन कुन कार्यालयले चौथो स्वतःप्रकाशन गरेनन् ?
आर्थिक वर्ष २०८१/०८२ को चौथोे त्रैमासिक स्वतःप्रकाशन नगर्ने कार्यालयहरुमा २० संघीय कार्यालयहरु मध्य जिल्ला अदालत सिन्धुली,सरकारी वकिल कार्यालय सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुली र कृषि सामाग्री कम्पनी लि.रहेका छन् भने १४ प्रादेशिक कार्यालयहरु मध्य उद्योग तथा बाणिज्य कार्यालय सिन्धुली,सिन्धुली अस्पताल सिन्धुली,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली,बागवानी विकास केन्द्र सिन्धुली,शहरी विकास तथा भवन कार्यालय सिन्धुली,खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय सिन्धुली,यातायात व्यवस्था कार्यालय सिन्धुली र पुर्वाधार विकास कार्यालय सिन्धुली रहेका छन् ।
त्यसैगरी,नौ वटा स्थानीय तहहरु मध्य सिन्धुलीमा रहेका दुई वटा नगरपालिका कमलामाई र दुधौली नगरपालिका सहित सुनकोशी,मरिण,हरिहरपुरगढी र तीनपाटन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक स्वतःप्रकाशन नगरेका जिल्ला अनुगमन ईकाई सिन्धुलीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसअघि संघीय तर्फ जिल्ला अदालत सिन्धुली,सुनकोशी मरिण बहुउद्धेश्य आयोजना सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली,सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली र चुरे उत्थानशिल आयोजना सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका थिएनन् ।त्यस्तै प्रादेशिक कार्यालयहरु तर्फ सिन्धुली अस्पताल सिन्धुली,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली,बागवानी विकास केन्द्र सिन्धुली,कृषि विकास कार्यालय,डिभिजन वन कार्यालय सिन्धुली,जनस्वास्थ्य कार्यालय सिन्धुली,खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय सिन्धुली,यातायात व्यवस्था कार्यालय खुर्काेट र पुर्वाधार विकास कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका थिएनन् ।दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा सुनकोसी,घ्याङ्लेक,मरिण र हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेश्रो त्रैमासिक स्वतः प्रकाशन गरेका थिएनन् ।तथ्यांक अनुसार तेश्रो त्रैमासिक स्वतःप्रकाशन र चौथौ त्रैमासिक स्वतःप्रकाशनको तुलना गर्दा स्वतःप्रकाशन नगर्ने केही कार्यालयहरु दोहोरिएका  छन् ।
के छ सूचनाको हक सम्बन्धी व्यवस्था
सरकारी तथा सार्वजनिक निकाय(कार्यालय)ले हरेक तीन/तीन महिनामा आफ्नो कार्यालयले गरेका गतिविधिहरु स्वतःप्रकाशन मार्फत नागरिकलाई जानकारी दिनुपर्ने प्रावधान छ । नेपालको संविधान २०७२ को धारा २७ का साथै नेपालको सूचना हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार सरकारी तथा सार्वजनिक निकाय(कार्यालय)ले गरेका गतिविधिहरु नागरिकलाई जानकारी गराउनु पर्ने प्रावधान भएपनि आफुहरुले गरेका गतिविधिहरु सार्वजनिक गर्न कार्यालयहरुले चासो नदिनुले प्रचलित कानूनी व्यवस्था जस्तैं–सार्वजनिक खरिद ऐन र तत्सम्बन्धी नियमावली,आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन र तत्सम्बन्धी नियमावली,सूशासन (व्यवस्थापन तथा संचालन) ऐन र तत्सम्बन्धी नियमावली,सूचनाको हक सम्बन्धी ऐन र तत्सम्बन्धी नियमावली लगायतमा उल्लेखित प्रावधानहरुको गम्भीर उल्लंघन भएको ठहरिन्छ ।भने ती कार्यालयहरुले आर्थिक अपचलन एवम वित्तीय विचलन भई भ्रष्टाचार बढेको हुन सक्ने स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार