सर्लाहीको पर्सा गाउँपालिका ६ स्थित मल्हनीया पोखरी नजिकबाट अन्दाजी १० किलो लागु औषध गाँजा सहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,बोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका सशस्त्र प्रहरी प्रमुख एवम सशस्त्र प्रहरी निरिक्षक रामहरी खड्काको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले पर्सा गाउँपालिका ६ स्थित मल्हनीया पोखरी नजिकबाट अन्दाजी १० किलो लागु औषध गाँजा सहित मधेस प्रदेश ०३–०३५ त ६८९२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक विनोदराज खनालले जानकारी दिए ।
उनका अनुसार गोप्य सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि लागु औषध गाँजा लिएर नेपालबाट भारततर्फ जाँदै गरेका मानिसहरु मोटरसाईकल र उक्त गाँजा छोडेर भागेका छन् ।नियन्त्रणमा लिईएको लागु औषध गाँजा र मोटरसाईकल आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक खनालले बताए ।
यता,प्राय लागु औषधका घटनाहरुमा सुरक्षाकर्मीहरुले कमिसन खाएर मानिस भगाउने र सामान मात्रै नियन्त्रणमा लिने गरेका पुर्व सुरक्षा अधिकारीहरु बताउँछन् ।उनीहरुका अनुसार मानिस सहित नियन्त्रणमा लिँदा बयानका लागि पटक पटक अदालतमा समेत जानु पर्ने झन्झटिलो व्यवस्थाका कारण सुरक्षाकर्मीहरुले कमिसन असुलेर मानिस भगाउने र लागु औषध मात्रै नियन्त्रणमा लिएर सरोकारवाला निकायमा बुझाउने गरेका छन् ।