Close This

सर्लाहीमा क्वारेन्टाइनमा बस्नेको संख्या ६१ पुग्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-३० गते   ३५४ पटक हेरिएको

भारत तथा तेस्रो मुलुकबाट सर्लाहीमा आएका ६१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार भारतको विभिन्न स्थानबाट हिँडेर आएका ३५ जनालाई प्रहरीले क्वारेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । यसअघि जिल्लामा २६ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

भारतका विभिन्न स्थानमा ज्याला–मजदुरी गर्न पुगेका उनीहरू पैदल हिँडेर सर्लाही आइपुगेका थिए । रातको समयमा सर्लाही छिरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर चन्द्रनगरमा– ६ मा रहेको कामद माविमा क्वारेन्टाइनमा राखेको छ । उनीहरूसँगै अन्य स्थानीय तहका समेत ठूलो संख्यामा प्रवेश गरेको प्रहरीको आशंका छ । उनीहरूको खोजी भइरहेकाले सर्लाही प्रवेश गर्नेको संख्या बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ ।

भारतको उत्तर प्रदेशमा मजदुरी गरिरहेका पाँचजना बुधबार राति चन्द्रनगर आइपुगेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको भनाइ छ । ‘भारतको उत्तरप्रदेशमा मजदुरी गरिरहेका चन्द्रनगर– ६, कामत टोलका पाँचजना गएराति घर आइपुगेछन्,’ अध्यक्ष महतोले भने, ‘उनीहरूलाई स्वास्थ्य जाँचपछि कामत माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखेका छौँ, अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य छ ।’

हिँडेर आउँदै गरेका भनेका सबैलाई भारतमै क्वारेन्टाइनमा राख्ने व्यवस्था भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीकोे भनाइ छ । ‘उनीहरू सर्लाही प्रवेश गरे भने जिल्ला नै आक्रान्त हुन सक्ने भएकाले उनीहरूलाई उतै रोक्ने प्रयास गर्दै छौँ,’ उनले भने, ‘उनीहरूलाई भारतमै क्वारेन्टाइनमा सुरक्षित राख्ने विषयमा भारतीय अधिकारीहरूसँग कुरा हुँदै छ ।’

शुक्रबारसम्म भारतका विभिन्न स्थानमा कामको सिलसिलामा पुगेका लकडाउन घोषणापछि हिँडेर सीमा क्षेत्रमा आइपुगेका एक सय २३ जनालाई भारतमै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech