सर्लाहीको लालबन्दीमा टिबी जाँच गर्ने जेन एक्सपोर्ट मेसिन जडान गरिएको छ । लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा जेनएक्सपोर्ट मेसिन जडान गरिएको हो ।
नेपाल सरकारको करिब रु ४५ लाखको लागतमा खरिद भएको मेसिन केन्द्र सरकार हुँदै प्रदेश सरकारबाट स्थानिय सरकारमा आई राष्ट्रिय क्षयरोग केन्द्र,ठिमी,काठमाण्डौँको समन्वयमा प्रदेश जन स्वास्थ्य निर्देशनालय जनकपुर मार्फत प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा जडान गरिएको हो ।

लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका अध्यक्ष गोपाल घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको सभा हलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्र,ठिमी,काठमाण्डौँका प्रतिनिधिहरु,प्रदेश जन स्वास्थ्य निर्देशनालय जनकपुरका प्रतिनिधिहरुका साथै जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रतिनिधिहरु र उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीको विशेष उपस्थितीमा कार्यक्रम गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको जेन एक्सपोर्ट मेसिनले टिबीका विरामीहरुको जाँच हुनुको साथै विशेष व्यावस्था तथा केमिकलको प्रयोगबाट कोरोना जाँच पनि हुने प्रथामिक स्वास्थ्य केन्द्र लालबन्दीकी प्रमुख डा.प्रगति रानाले बताउनु भयो । प्रदेश नम्बर २ मा यस अघि तीन स्थानमा मात्र यस्ता प्रकारका मेसिन जडान गरिएको भएपनि प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा जडान गरिएको मेसिनले सर्लाहीको लालबन्दी,हरिपुर,हरिवन,बागमती,इश्वरपुर,कविलासी नगरपालिकाका साथै चन्द्रनगर गाउंपालिका र छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका,मरिण गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा दिने भएको हो ।
सर्लाही जिल्लामै सबै भन्दा बढी एमविविएस(चिकित्सकहरु) रहेको यस प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको जेन एक्सपोर्ट मेसिनले एक पटकमा ४ वटा स्याम्पलको रिपोर्ट दिने र एउटा स्याम्पलको रिपोर्ट आउन करिब २ घण्टा लाग्ने डा.रानाले बताउनु भयो ।

यस प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा एमविविएस(चिकित्सकहरु) चारजना रहको छन् । जिल्लामै सबै भन्दा बढी एमविविएस(चिकित्सकहरु) रहेको यस स्वास्थ्य संस्था जिल्लाकै नमुना र एकमात्र स्वास्थ्य संस्था बन्नु पर्ने कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख खड्काले बताउनु भयो । उहाँले कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा रहेका स्वस्थ्यकर्मीहरु तथा कर्माचारीहरुलाई तादरुकताका साथ काम गर्न पनि निर्देशन दिनु भयो । उहाँले काम गर्न बनाइएको तालिका अन्ुसार काम नगर्ने कर्माचारीहरुलाई आवश्यक कार्बाही गर्ने पनि बताउनु भयो ।
टिबीको जाँच गर्न यस अघि सिरहाको मिर्चैया,धनुषाको जनकपुर र विरगन्ज जानु पर्ने बाध्यतालाई मध्य नजर गर्दै लालबन्दीमा जोन एक्सपोर्ट मेसिन जडान गरिएको र अब त्यो बाध्यता टरेको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवम लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष घिमिरेले बताउनु भयो ।