सर्लाहीको ईश्वरपुर नगरपालिकाले आफ्नो मुटुको बजार व्यवस्थापन र सडक विस्तारको काम सुरु गरेको छ । इश्वरपुर नगरपालिका ७ अज्र्तगत रहेको बजार क्षेत्रमा सडक मिचेर बनाइएका घर तथा टहरा भत्काई बजारको व्यवस्थापनको काम सुरु गरेको हो ।
नगरपालिकाले पटक पटक गरि सुचना जारी गरेर बिहीबारबाट सो क्षेत्रका घर तथा टहरा हटाउने काम सुरु गरेको हो । सडक मिचेर बनाएका घर तथा टहरा हटाएर सा क्षेत्रमा सडक विस्तार गर्ने र सो क्षेत्रमा रहेको बजारलाई भित्र व्यवस्थापन गरिएको इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष रहमान अन्सारीले जानकारी दिनु भयो । बजार क्षेत्रमा अवैध तरिकाले बनाइएका सबै संरचना हटाएर सडकको विस्तार गर्न करिब ३५ वटा घर तथा टहरा हटाइने वडा अध्यक्ष अन्सारीले बताउनु भयो ।
धेरै समयदेखि बजार क्षेत्रलाई नै असर पार्ने गरी घर टहरा लगायतका संरचना बनेका भन्दै बाटो फराकिलो बनाउन नगरपालिकाले उक्त क्षेत्रका व्यापारी व्यासायीहरुलाई पटक पटक आग्रह गरेको थियो । तर व्यापारी व्यावसायीहरुले अटेर गरेपछि उच्च अदालतको आदेशअनुसार नगरपालिकाले बल प्रयोग गर्ने चेतावनी दिएपछि व्यापारी व्यावसायीहरुले घर तथा टहराहरु खाली गर्न सुरु गरेपछि भौतीक संरचना हटाउने काम सुरु गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनुभयो ।
नगरपालिकाले बजार क्षेत्रको बाटो ७२ फिटको बनाउन लागेकोले सो क्षेत्रका घर तथा टहरा हटाउन नगरपालिकाले परिपत्र गरेको थियो । सुरुका केही दिनमा विरोध भएपनि पछि व्यापारी व्यावसायीहरुको पनिसहमती अनुसार घर तथा टहरा हटाउने काम सुरु गरिएको नगर प्रमुख देवकोटाले बताउनुभयो ।
वर्षाैंदेखि आफूहरूले बजार क्षेत्रमा व्यवसाय गर्दै आए पनि नगरपालिकाले बाटो फराकिलो बनाउँदा आफ्नो रोजोरोटी गुम्ने भन्दै केही स्थानिय व्यापारी व्यावसायीहरुले स्विरोध जनाएका थिए । तर उच्च अदालत जनकपुरले सो क्षेत्रका घर तथा टहरा हटाउन निर्देशन दिएपछि नगरपालिका तातेको हो ।
सडक सानो भएकाले बजार अस्तव्यस्त भएकाले बाटो फराकिलो बनाउने अभियानमा नगरपालिका लागेको नगर प्रमुख देवकोटाले बताउनुभयो । ‘असारसम्म सडक मिचेका घर टहरा हटाउने अन्तिम मिति भएकाले आफूहरूले यसप्रति तदारुकता देखाएको नगर प्रमुख देवकोटाको भनाइ छ । फुलजोर त्रिभुवन नगर हुलाकी सडक सो बजार क्षेत्र कै कारण विवादमा परेको थियो ।