जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैं अघि नै भूक्तानि गर्न माग गरेका छन । गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनु पर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामा आइसकेको छ । जिल्लाका उखु उत्पादक किसानका लागि २१ करोड ३४ लाख ९५ हजार रुपैंया निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिनु भयो । ४४ लाख ४३ हजार ६५ रुपैंया अर्थात २.५ प्रतिशत कम बजेट निकासा आएको कार्यालय प्रमुख थपलियाले बताउनु भयो ।
सर्लाहीका उखु किसानका लागि २१ करोड ७९ लाख ३८ हजार ६५ रुपैंया निकासा हुनुपर्ने थियो । अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भूक्तानि गर्न माग गर्दै सर्लाहीका उखु उत्पादक किसानहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनु भयो ।
जिल्लाका चिनी उद्योगमा छिमेकी जिल्लाका उखु उत्पादक किसानहरुले पनि उखु बिक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको अध्यक्ष मैनालीले बताउनु भयो । दशैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाईदिन आग्रह गर्दै उखु उत्पादक महासंघका अध्यक्ष मैनाली, अगुवा उखु किसान राजकुमार उप्रेती लगायतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गाराएका छन ।
अघिल्ला वर्षहरुमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि यसवर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको कोलेनिका प्रमुख थपलियाले बताउनु भयो ।