सिन्धुलीको मरिण गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा मरिण गाउँपालिका सिन्धुलीको पहिलो भएको छ।आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा पालिका रहेको सिन्धुलीमा मरिण गाउँपालिकाले सबै भन्दा धेरै ९६ दशमलव ५ प्रतिशत अंक ल्याएर मरिण गाउँपालिका सिन्धुलीमा पहिलो स्थानीय तह घोषणा भएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले जानकरी दिए ।उनका अनुसार दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तहहरु मध्य मरिण गाउँपालिका सिन्धुलीमा प्रथम हुन सफल भएको हो ।
९६ अंक सहित कमलामाई नगरपालिका दोस्रो,९२ दशमलव २५ अंक सहित दुधौली नगरपालिका तेस्रो,९० दशमलव ७५ अंक सहित सुनकोशी गाउँपालिका चौथो,८९ अंक सहित फिक्कल गाउँपालिका पाँचौँ,८८ दशमलव ७५ अंक सहित तीनपाटन गाउँपालिका छैटौँ,८३ दशमलव ५ अंक सहित घ्याङ्लेख गाउँपालिका सातौँ,८१ अंक सहित हरिहरपुरगढी गाउँपालिका आठौँ र ६५ अंक सहित गोलन्जोर गाउँपालिका नवौँ स्थानमा परेका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन समितिले सार्वजनिक गरेको परिणामले देखाएको छ।
प्रदेशमा रहेका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमुल्यांकन स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका १० वटा विषयगत क्षेत्रहरु शासकीय प्रबन्ध,संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह,न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सहकार्य र समन्वय रहेका गाँउपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताए ।उनका अनुसार ती विषयगत क्षेत्र अन्तर्गत जम्मा सय वटा सूचकहरू रहने र प्रत्येक सूचकका लागि एक/एक अंक निर्धारण गरिएको महासंघले जनाएको छ।हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ ।यी सूचकहरूको मूल्यांकन गर्न समग्र अवस्थाका प्रत्येक सूचकमा चार अवस्थाहरू राखिएका छन् भने प्रक्रियागत र परिमाणात्मक अवस्थाका सूचकहरूमा तीन तीन वटा अवस्थाहरू राखिएका छन्।यी अवस्थाहरू मध्ये अन्तिम अवस्था सबैभन्दा राम्रो अवस्था हो भने पहिलो,दोस्रो र तेस्रो अवस्थाले क्रमशःकमजोरबाट सुधार हुँदै गएको अवस्थालाई जनाउँछ।स्थानीय तहले स्वमूल्यांकन कार्य प्रत्येक आर्थिक वर्षको पुस मसान्त भित्र सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा राम्रो अंक ल्याउने स्थानीय तहलाई प्रत्येक वर्ष सरकारले रु एक करोड देखि रु चार करोड सम्मको थप अनुदान दिने प्रावधान रहेको छ,भने नराम्रो अंक ल्याउने पालिकाको हरेक वर्ष रु एक देखि रु चार करोडको बजेट कट्टा हुँदैन जान्छन् ।स्थानीय तहका लागि बजेट कटौती हुँदै जानु कदापी राम्रो संकेत नभएको नागरिक समाजका अगुवाहरुको भनाई छ।उनीहरुका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अधिकांस सिन्धुलीका स्थानीय तह कमजोर हुनु सुशासन माथि गम्भीर प्रश्न खडा हुनु हो ।
स्थानीय तहको वर्तमान अवस्था,कार्य सम्पादनका सिलसिलामा अपनाइएका र अपनाउनु पर्ने प्रक्रियाहरू,सम्पादन गरिएका असल अभ्यासहरू र सम्पादन गर्न बाँकी रहेको कार्यहरूको स्थिति पत्ता लगाउन स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन अपरिहार्य रहेको जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले बताए । उनका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि,२०७७ को दफा ६ को उपदफा ४ सँग सम्बन्धित अनुसूची ५ मा स्थानीय तहको स्वमूल्यांकन कार्य योजना बमोजिमका प्रक्रियाहरू अवलम्बन गरी स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको छ।चालु आर्थिक वर्षको श्रावण १ गतेबाट लिजा,फरा र एलइडीलाई मर्ज गरी स्थानीय शासन कार्य सम्पादन मूल्यांकन (व्यवस्थापन,संचालन) कार्यविधी २०८२ बाट लागु भएको छ।नेपाल सरकारले आउने दिनमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यलाई थप सशक्त बनाउँदै जाने बताएको छ।यस परीक्षामा कम अंक ल्याउने स्थानीय तहलाई कालो सूचीमा राखेर कारवाही हुने गरि कानुन बनाउन नेपाल सरकारसंग स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् ।