असई यादव देशभर कै उत्कृष्ट प्रहरी घोषित

180 Shares

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)रागनी कुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन्।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरू मध्ये असई यादवलाई उत्कृष्ट घोषणा गरेको हो ।आइतबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक(आईजिपी) दानबहादुर कार्कीले प्रथम स्थान हासिल गरेकी असई यादवलाई नगद रु ४० हजारसहित प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका हुन।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भएकी असई यादव जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छिन् ।आर्थिक वर्ष २०८१÷०८२ को लैंगिक हिंसाको तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले उनको नाम छनोट गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी,अर्घाखाँचीको प्रहरी चौकी बालकोटमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छन्।उनले रु ३० हजार नगदसहित प्रमाण–पत्र प्राप्त गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ तेस्रो भइ नगर रु २० हजार नगद सहित प्रशंसा पत्र प्राप्त गरेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई नगद रु १० हजारसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित समाचार