विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक

178 Shares

सर्लाहीमा शुक्रबारदेखि एक साताका लागि विदेशी नम्बर प्लेटका यात्रु बाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला सुरक्षा समिति र राजनीतिक दलहरु सहितको बैठकले फागुन १५ गते शुक्रबार देखि २२ गते शुक्रबारसम्म जिल्लाभर कुनै पनि विदेशी नम्बर प्लेटका यात्रु बाहक सवारी साधन सञ्चालन नगर्ने र यदि कसैले सञ्चालन गरेको पाइए प्रहरीले नियन्त्रणमा लिने निर्णय भएको जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
उनका अनुसार सर्लाहीमा शुक्रबारदेखि विशेष गरी भारतीय नम्बर प्लेटका यात्रु बाहक चार पाङ्ग्रे सवारी साधन तथा मोटरसाइकल सञ्चालनमा कडाई गरिएको छ।विदेशी नम्बर प्लेटका यात्रु बाहक सवारी साधन सञ्चालन गर्दा फागुन २१ को निर्वाचनको सुरक्षा संवेदन शीलतामा असर गर्ने भएपछि एक साताका लागि विदेशी नम्बर प्लेटका यात्रु बाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
उनका अनुसार चुनावलाई लक्षित गर्दै जिल्लामा बिहीबारदेखि मदिरा अर्थात् जाँड(रक्सी बेचबिखन र सेवनमा प्रतिवन्ध लगाइएको छ।यस्तै बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी सर्लाहीमा तीन दिन नेपाल(भारत सीमा नाका सिल निर्णय गरेको छ।बैठकले चुनावको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नेपाल भारत सीमानाकाबाट आवत जावत पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार