सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित रहेको जनज्योति माध्यमिक विद्यालयका शिक्षकहरुले विद्यालयको पठनपाठन अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।
लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित रहेको जनज्योति माध्यमिक विद्यालयमा केही व्यक्तिहरु विद्यालयमै आएर पटक–पटक गाली गलौच गरेको भन्दै आइतबार बसेको शिक्षक तथा कर्मचारीहरुको बैठकले सोमबारदेखि विद्यालयमा पठनपाठन नगराउने निर्णय गरेको हो ।
लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित रहेको जनज्योति माध्यमिक विद्यालयमा ८ कोठे कक्षा कोठा भवनको निर्माणको विषयमा केही व्यक्तिले पटक–पटक विद्यालयमा आएर शिक्षकहरुलाई गाली गलौच गर्ने र डोजर लगाएर विद्यालय भवन भत्काउने सम्मको प्रयास गरेका कारण आफुहरु बाध्य भएर विद्यालयको पठनपाठन नगराउने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक रामनिवास साहले बताउनु भयो । उहाँका अनुसार जनज्योति माविको कम्पाउण्ड भित्र पर्ने जग्गाको विषयमा पछिल्लो समय निकै विवाद भइरहेको छ ।
विद्यालय भवन निर्माण भइरहेको एैलानी जग्गा एक व्यक्तिको नाममा मोही देखिएको र मोही महलमा आफ्नो नाम रहेको भन्दै ती व्यक्तिले सो जग्गा आफूले भोगचलन गर्न पाउनुपर्ने र विद्यालय भवन बनाउन नदिने बताउँदै आएका विद्यालय प्रशासनले जनाएको छ । यस विवादको विषय लालबन्दी नगरपालिका,जिल्ला प्रशासन कार्यालय सर्लाही लगायतका सरोकारवाला निकायमा पुगेपनि समाधानको कुनै प्रयास नभएको विद्यालयको आरोप छ ।