Close This

विमानस्थल निर्माण कार्य नरोक्न सरोकारवालाको माग

पत्र पत्रिका    प्रकाशित: २०७६-१०-३ गते   २९५ पटक हेरिएको

बाराको जितपुर सिमरा उपमहा नगरपालिकामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम कुनैपनि हालतमा नरोक्न सरोकारवालाहरुले माग गरेका छन् ।
 जंगल क्षेत्रमा विमानस्थल बनाउने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि छलफलका लागि विमानस्थलको काम तत्काल अघि नबढाउन अन्तरकालिन आदेश जारी भएपछि बाराका सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।  निजगढका नगरस्तरीय सरोकार समिति, टाँगियाबस्ती सरोकार समिति, जीतपुरसिमरा सरोकार समिति र कोल्हवीले एकैसाथ निजगढ विमानस्थल राष्ट्रको गौरव भएको र हवाई पूर्वाधारमार्फत देश सम्वृद्ध बनाउने आधार भएकाले यसलाई रोक्न नहुने बताएका हुन् । 
देशका विभिन्न ८ सम्भावित स्थानहरुको प्रारम्भिक अध्ययनपछि छनोट गरिएको सबैभन्दा उपयुक्त र प्राविधिक हिसावले समेत उचित स्थान भएको भन्दै विभिन्न बाहानामा विकासको बाधक बन्नेहरुप्रति सर्वोच्च अदालत समेत सचेत बन्नुपर्ने  पूर्वमन्त्री पुरुषोत्तम पौडेल बताउनुभयो । उहाँले विभिन्न चरणका अध्ययन, अनुसन्धान र अवलोकन पश्चात निर्माण थालिएको विमानस्थलमा अनावश्यक बखेडा झिकेर विरोध गर्नेहरु देश विकाशको हितमा नरहेको उल्लेख गर्नुभयो । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलका लागि ५ सय वटा पुराना रुख रहेको जंगल विनाश गर्ने, रुख काट्ने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट समेत दायर गरेका थिए । 
विमानस्थल निर्माण क्षेत्रमा रहेको १ हजार ४ सय ६७ घरपरिवारको व्यावस्थापनको लागि जितपुर सिमरा उपमहा नगरपालिका र कोहल्वी नरगपालिकामा जग्गाको समेत खोजीभई सकेको अवस्थामा समेत  सर्वोच्च अदालतले विभिन्न बखेडा झिकेर विमानस्थल निर्माण कार्य रोक्न नहुने सरोकारवालाहरुको माग रहेको छ ।  ऐलानी जग्गा रहेको र सो क्षेत्रमा बसोबास गरि रहेका स्थानियबासीहरुसंग बस्ती स्थान्तरणको विषयमा विभिन्न चरणमा छलफल समेत भई रहेको समयमा सर्वाेच्च अदालतले गरेको सो निर्णय आफुहरुको लागि मान्य नहुने सरोकार समितिको भनाई छ । बस्ती स्थानान्तरणको लागि छलफलको काम तिब्रगतीमा भई रहेको समयमा र विमानस्थल निर्माणको क्रममा धेरै जंगलको क्षेती पनि नहुने भएका कारण पनि विमानस्थल निर्माणको काम कुनै पनि हालतमा रोक्न नमिल्ने सरोकार समितिको माग रहेको छ । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech