Close This

सर्लाहीको चुरे क्षेत्रमा सुक्खा मौसम सुरु भएसँगै पिउने पानीको अभाव

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१५ गते   २६३ पटक हेरिएको

 सर्लाहीको चुरे क्षेत्रमा सुक्खा मौसम सुरुसँगै खानेपानीको अभाव हुन थालेको छ । बर्सेनि यो मौसममा चुरेका स्थानीयले खानेपानीको संकट बेहोर्दै आएका छन् । सुक्खा मौसम सुरुसँगै कुवा, खोला, खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयको गुनासो छ ।
सर्लाहीको चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुंग्रेखोला लगायत ठाउँका करिब १ हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर रहेका छन् । उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव सुरु हुने गर्दछ । हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजिकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौं उकालो–ओरालो गरेर मुहान सम्म पुग्नुपर्ने अवस्था सृजनाभएको बताउनुभयो ।
४० घरधुरी रहेको बस्तीको छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नभएका कारण स्थानियबासी समस्यामा परेका छन् । सो कुवाको पानी मुस्किलले ४–५ घरलाई पुग्ने गरेको जिम्बाले बताउनु भयो । लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पु¥याइए पनि खोलामा पानी सुक्दा धारामा पानी कम आउन थालेको छ । धाराको पानी थाप्न घण्टौं लाइनमा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गर्नु भयो । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको छ,’ रानाले बताउनु भयो । ‘एक गाग्री पानीका लागि करिब ५ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था सृजना भएको लालबन्दी नगरपालिका १५ का किरण वि.कले बताउनु भयो ।’ 
दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको छ । बस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेका कारण मानिसहरुलाई विभिन्न किसिमका सरुवा रोगहरु समेत लाग्ने गरेको  स्थानिय चिकित्सकहरुले बताएका छन् ।
‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ,’ इश्वरपुर नगरपालिका १२ का अजय थिङ्गले बताउनु भयो । बढ्दो वन विनाश, उत्खन्न र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ ।
चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका स्थानिय निकायहरूले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पु¥याए पनि मूल नै सुक्दा सो कार्य प्रभावकारी बन्न सकेको छैन । पुराना इनार, कुवा मर्मत र नयाँ इनार खनेर पानी पु¥याउने योजना अनुसार काम भइरहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईंले बताउनु भयो । उहाले ठाउँ–ठाउँमा डिप बोरिङ गर्न लागिएको जानकारी दिनु भयो । पछिल्लो समयमा वन विनाश हुँदै गएका कारण पनि पानीका मुहानहरु सुक्न थालेका कारण चुरे क्षेत्रका बस्तीमा पिउने पानीको अभाव भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech