कर्मचारीको लागातार राजीनामा,व्यवस्थापन,पारदर्शिता र सुशासन माथि गम्भीर प्रश्न

207 Shares

सर्लाहीको लालबन्दी स्थित रहेका जिल्लाकै उत्कृष्ट लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लि.पछिल्लो समय कर्मचारीहरूको लगातार राजीनामाका कारण संकटको अवस्थामा पुगेको छ।छोटो समयमै पालैपालो कर्मचारीहरूले जागिर छोड्न थालेपछि संस्थाको आन्तरिक व्यवस्थापन,नेतृत्व क्षमता र कार्य प्रणाली माथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
लामो समयदेखि खानेपानीको चरम अभाव रहेको लालबन्दीको उत्तरी भेगमा नेपाल सरकारको तेस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत तत्कालीन अध्यक्ष बासुदेव अधिकारी तथा स्थानीय अगुवा बुद्धिजीवी र राजनीतिककर्मीहरूको पहलमा आयोजना सम्झौता भई निर्माण कार्य सुरु गरिएको थियो।निर्माण कार्य सम्पन्न भई सफल परीक्षणपछि आयोजना औपचारिक रूपमा संस्थालाई हस्तान्तरण गरि सञ्चालन भई रहेको भएपनि कर्मचारीहरुले लगातार राजीनामा दिन थालेपछि संस्था संकटमा पर्न थालेको स्थानीयको गुनासो छ ।
आयोजना हस्तान्तरणपछि संस्थाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन दक्ष र योग्य जनशक्तिको आवश्यकता महसुस गर्दै स्थानीय तहबाट खुला प्रतिस्पर्धामार्फत कर्मचारी भर्ना तथा छनोटका लागि विज्ञापन प्रकाशन गरी भर्ना भएका कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेपछि संस्थाको आन्तरिक व्यवस्थापन,नेतृत्व क्षमता र कार्य प्रणाली माथि गम्भीर प्रश्न उठ्न थालेको हो ।
संस्थामा रिडर दुई जना,लेखापाल एक जना,जिन्सी एक जना र प्रशासन एक जना गरी कुल पाँच जना कर्मचारीबाट सुरु गरिएको सेवामा ३२ जना कर्मचारीहरु पुर्याइएको भएपनि योग्यता,दक्षता र क्षमताको मूल्यांकन कमजोर बनेको भन्दै स्थानीयस्तरमा आलोचना सुरु भई रहेको अवस्थामा कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेपछि स्थानीयमा चिन्ता थपिएको छ ।संस्थामा सुधार ल्याउने प्रतिबद्धता सहित आएका अध्यक्ष पोखरेलकै कार्यकालमा उनैको संयोजकत्वमा गठन गरिएको छनोट समिितले छनोट गरेका कर्मचारीहरूले नै क्रमशःराजीनामा दिन थालेका छन्।
हालसम्म प्रशासन सहायक सिताराम महतो,जिन्सीमा रहेका  तिर्थराज पौडेल,प्लम्बर सुमन घिसिङ,अपरेटर भीम काफ्ले तथा रिडर धर्मेन्द्र चौधरी गरी पाँच जना कर्मचारीहरुले संस्थाबाट राजीनामा दिइसकेका संस्थाको प्रशासन शाखाले जनाएको छ।तीमध्ये तीन जना कर्मचारी वर्तमान नेतृत्वकै पालामा खुला प्रतिस्पर्धाबाट  छनोट भएका थिए।
कर्मचारीहरूले संस्थाभित्र भविष्य सुरक्षित नदेखिएको,व्यवस्थापन कमजोर रहेको र कार्य वातावरण अनुकूल नभएको तथा निर्णय प्रक्रिया अपारदर्शी रहेको गुनासो गर्दै राजीनामा दिएको बताएका छन्।योग्य र दक्ष जनशक्ति निरन्तर पलायन भइरहँदा संस्थाको दीगो विकास,सेवा गुणस्तर र उपभोक्ता सन्तुष्टिमा गम्भीर असर पर्ने भन्दै स्थानीय चिन्तित बनेका छन् ।
संस्थाको विधि,विधान र व्यवस्थापन प्रणाली समयअनुकूल सुधार गर्न नसकिए संस्थाको विश्वसनीयता र सेवा प्रवाह दुवैमा नकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन् ।साथै, संस्थालाई राजनीतिक भर्ती केन्द्र बनाउने प्रवृत्ति र नातावाद–कृपावाद मौलाउँदै गएको अवस्थाले संस्थाको मौलिक उद्देश्य नै कमजोर बनाउने खतरा बढेको सरोकारवालाहरूको भनाइ छ। यस्तो अवस्थामा संस्थाको नीतिगत व्यवस्था तत्काल सुधार गरी पारदर्शिता,सुशासन र उत्तरदायित्व कायम गर्न सबै पक्ष सचेत हुनुपर्ने जानकारहरु बताउँछन् ।हाल संस्थाबाट लालबन्दी नगरपालिकाका १७ वटा वडा मध्य ११ वडाले पुर्णरुपमा र लालबन्दी १५ को केही भाग तथा हरिवन नगरपालिका २ का केही भाग गरि करिब नौ हजार घर घुरीमा खानेपानीको पहुँच पुर्याई रहेको छ ।

सम्बन्धित समाचार