Close This

शनिबार मध्यरातीदेखि एकसाता सर्लाहीमा निषेधाज्ञा(लक डाउन)

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२४ गते   २३४ पटक हेरिएको

सर्लाहीमा शनिबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शुक्रबारको बैठकले शनिबार राती १२ बजेदेखि आगामी वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
 जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा घोषणा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द रहने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिईने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ ।
विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने डीसीसीएमसीले निर्णय गरेको छ । डीसीसीएमसीले औषधोपचार एवम अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न पनि डीसीसीएमसीले आग्रह गरेकोप्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो  ।
यो आदेशको अवज्ञा गरेमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्ने सीडीओ प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । छिमेकी जिल्ला महोत्तरी र रौतहटमा समेत निषेधाज्ञा घोषणा भएपछि सर्लाहीमा पनि निषेधाज्ञा घोषणा गरिएको हो ।
सर्लाहीमा शुक्रबार बिहानसम्म कोरोना सङ्क्रमितको सङख्या २ सय ४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले जानकारी दिनुभयो । संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको नायकले बताउनु भयो ।
 विभिन्न कार्यालयका कर्मचारी, प्रहरीको हिरासतमा रहेका थुनुवा र लक्षण देखिएर जिल्ला अस्पतालमा पुगी थ्रोट स्वाब दिएकाहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख नायकले बताउनु भयो । अहिले प्रत्येक जसो टोल बस्तीमा कोरोना सक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका सयौँ मानिस बिरामी परेपनि थोरैले मात्रै पीसीआर गराएका छन् ।
जिल्ला अस्पताल सर्लाहीमा एक सातादेखि निःशुल्क रुपमा पीसीआर गराउने काम भइरहेको भएपनि लक्षण देखिएका व्यक्तिहरुले परीक्षणमा बेवास्ता गरेका स्वास्थ्य कार्यालय प्रमुख नायकले बताउनुभयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech