Close This

शनिबार मध्यरातीदेखि एकसाता सर्लाहीमा निषेधाज्ञा(लक डाउन)

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२५ गते   २४७ पटक हेरिएको

सर्लाहीमा शनिबार(आज)मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा(लक डाउन) घोषणा गरिएको छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले शनिबार(आज) राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञाण्लक डाउन) गर्ने निर्णय गरेको हो ।
 जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा(लक डाउन) घोषणा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।
निषेधाज्ञा(लक डाउन)को अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द रहने छन् । स्वास्थ्य संस्था, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिईने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन् । बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै सञ्चालन गर्नुपर्ने छ । 
विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका कार्यमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने डीसीसीएमसीले निर्णय गरेको छ । औषधोपचार एवम अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न पनि डीसीसीएमसीले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो  ।
यो आदेशको अवज्ञा गरेमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । छिमेकी जिल्ला महोत्तरी र रौतहटमा समेत निषेधाज्ञा घोषणा भएपछि सर्लाहीमा पनि निषेधाज्ञा(लक डाउन) घोषणा गरिएको हो । अब प्रदेश नम्बर २ का सबै आठैवटा जिल्लामा निषेधाज्ञा(लक डाउन) घोषणा गरिएको छ ।
सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङख्या २ सय ४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिनु भयो । भने  ४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको यादवले बताउनु भयो । शुक्रबार र शनिवार स्बाव संकलन गरिएका सबै स्बावको रिर्पोट आईतबार मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
 विभिन्न कार्यालयका कर्मचारी, प्रहरीको हिरासतमा रहेका थुनुवा र लक्षण देखिएर जिल्ला अस्पतालमा पुगी थ्रोट स्वाब दिएकाहरुमा सङ्क्रमण देखिएको यादवले बताउनु भयो । अहिले प्रत्येक जसो टोल बस्तीमा कोरोना सक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका सयौँ मानिस बिरामी परेपनि थोरैले मात्रै पीसीआर गराएका स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला अस्पताल सर्लाहीमा एक सातादेखि निःशुल्क रुपमा पीसीआर गराउने काम भइरहेको भएपनि लक्षण देखिएका व्यक्तिहरुले परीक्षणमा बेवास्ता गरेका यादवले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech