दुग्ध विकास संस्थानको छिलिङ सेन्टर नवलपुर विगत करिब छ महिनादेखि बन्द

221 Shares

दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत सञ्चालन हुँदै आएको छिलिङ सेन्टर नवलपुर सर्लाही विगत करिब छ महिनादेखि बन्द अवस्थामा रहेको छ।दुग्ध विकास संस्थान (डीडीसी) हेटौँडाका प्रमुख राजीव खनाल र छिलिङ सेन्टर नवलपुर सर्लाहीका प्रमुख नविन यादव विचको आन्तरिक द्धन्द्धका कारण छिलिङ सेन्टर नवलपुर सर्लाही विगत करिब छ महिना देखि बन्द अवस्थामा रहँदा यस क्षेत्रका दुग्ध उत्पादक किसानहरू गम्भीर समस्यामा परेका छन्।
छिलिङ सेन्टर नवलपुर बन्द भएपछि सर्लाहीका करिब चार सय जना दुध उत्पादक किसानहरुले उत्पादन गरेको दैनिक करिब दुई हजार लिटर दुध बिक्री गर्न कठिनाइ भोग्नु परेको साथै आफुहरुको करिब रु तीन करोड रकम भुक्तानी पनि शंकटमा परेको दुध उत्पादक किसानहरुको गुनासो छ ।
छिलिङ सेन्टर नवलपुर सर्लाही नियमित सञ्चालनमा रहेका बेला दैनिक करिब दुई हजार लिटर दुध संकलन भई सुरक्षित रूपमा प्रशोधन केन्द्रमा पठाउने गरिएको भएपनि लामो समयदेखि सेवा बन्द भएपछि भुक्तानीको चिन्ता र दुध बिक्रीका लागि निजी डेरीको भर पर्नुपर्ने अवस्था सिर्जना भएको किसानहरुको गुनासो छ।निजी डेरीले पनि कहिले दुध नलिने,कहिले कम मूल्य दिने र कहिले भुक्तानी ढिलाइ गर्ने समस्या रहेको भएपनि दुग्ध विकास संस्थान(डीडीसी)ले फागुन यताको करिब रु तीन करोड रकम भुक्तानी गर्न बाँकी राख्दा दुध बेचेर घर व्यवहार चलाई रहेका सर्लाहीका दुध उत्पादक किसानहरु थप मारमा परेका छन् ।
दुध उत्पादनलाई मुख्य आम्दानीको स्रोत बनाएर रगत र पसिना बगाएर उत्पादन गरेको दुध बिक्री गरेको रकम पनि कहिले पाउने भन्ने चिन्ता थपिँदा किसानहरू आर्थिक रूपमा मारमा परेका छन्।उत्पादन भएको दुध समयमा बिक्री हुन नसक्दा कतिपयले कम मूल्यमा बेच्न बाध्य भएको,केहीले पशुलाई नै खुवाउनुपरेको तथा कतिपय अवस्थामा दुध खेर फाल्नुपरेको उनीहरूको गुनासो छ।
स्थानीय पशुपालक किसानहरूका अनुसार दाना,घाँस,औषधी र पशुपालनको लागत निरन्तर बढिरहेका बेला दुधको बजार व्यवस्थापन कमजोर हुँदा व्यवसाय नै संकटमा परेको छ।यसले नयाँ पुस्तालाई पशुपालन व्यवसायबाट समेत निरुत्साहित बनाउने खतरा बढेको छ। किसानहरूले छिलिङ सेन्टर नवलपुर सर्लाही किन बन्द भयो ? भन्नेबारे स्पष्ट जानकारी समेत नपाएको गुनासो गरे। सम्बन्धित निकायले मर्मत,जनशक्ति अभाव वा अन्य कुनै कारण भए पनि सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने उनीहरूको माग छ। लामो समयसम्म मौन बस्नु गैर(जिम्मेवार व्यवहार भएको स्थानीय किसानहरुको भनाई छ।
यता,“दुग्ध विकास संस्थान (डीडीसी) हेटौँडाले नै दुध संकलन गर्ने गरेको साथै किसानहरुको दुध खरिद वापतको रकम पनि हेटौँडाले नै भुत्तानी गर्ने भएकाले छिलिङ सेन्टर नवलपुर सर्लाहीसंग यस विषयमा कुनै जवाफ छैन्।”छिलिङ सेन्टर नवलपुर सर्लाहीका प्रमुख नविन यादवले बताए।छिलिङ सेन्टर नवलपुर सर्लाहीका प्रमुख यादवका अनुसार दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडा मातहत बारा,रौतहट र सर्लाहीका गरी चार वटा कार्यालयहरु रहेका र दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडाका प्रमुख खनालले यी कार्यालयहरुबाट मासिक कमिसन असुल्ने गरेका छन्।कसरी कमिसन असुली हुन्छ?भन्ने कमलामाई मिडिया प्रा. लि.को प्रश्नमा“किसानहरुले ल्याएको दुधको फ्याट र ल्याक्टो कम देखाएर अर्काे फर्जि किसान खडा गरी उसको नाममा भुक्तानी दिएको देखाएर कमिसन असुली हुने गरेको र आफुले त्यसो गर्न नमान्दा आफुलाई दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडाका प्रमुख खनालले अनावश्यक दुख दिने गरेका छन्।”छिलिङ सेन्टर नवलपुर सर्लाहीका प्रमुख यादवले बताए।साथै कमिसन बुझाउने रौतहटका प्रमुख संजीव यादवलाई सर्लाहीको समेत जिम्मेवारी दिने तयारी भएको समेत बताए ।
त्यस्तै,छिलिङ सेन्टर नवलपुर सर्लाहीबाट दुध संकलनको काम मात्रै बन्द भएको तर कार्यालय बन्द नभएको दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडाका प्रमुख खनालले दाबी गरे। छिलिङ सेन्टर नवलपुर सर्लाहीले अपेक्षा अनुसार किसान तथा सहकारीहरुबाट दुध संकलन गर्न नसकेको र संकलन गरेको दुधको पनि गुणस्तरमा कमी देखिएको साथै सहकारीहरुसंग सम्बन्ध सुधार गर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडाका प्रमुख खनालले बताए ।उनले छिलिङ सेन्टर नवलपुर सर्लाहीका प्रमुख यादवलाई दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडा तानिएको र उनको ठाउँका रौतहटका प्रमुख संजीवलाई तत्कालका लागि दुवै जिल्ला हेर्ने गरी पठाउने तयारी गरिएको समेत बताए ।
दुग्ध विकास संस्थान (डीडीसी)हेटौँडाका प्रमुख खनालले मातहतका कार्यालयहरुबाट कमसिन असुल्ने गरेका छन् भन्ने आरोप छ नी ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा आफुले कमिसन नअसुलेको खनालले दाबी गरे।उनले केही समयका लागि रौतहटका प्रमुख यादवलाई सर्लाहीको समेत प्रमुख बनाएर पठाएको स्वीकार गर्दै केही समयपछि छिलिङ सेन्टर नवलपुर सर्लाहीको कार्यालय नै हटाउने तयारी भएको समेत रहस्य सार्वजनिक गरे।दुग्ध विकास संस्थान हेटौँडाका प्रमुख खनाल आएदेखि पटक पटक विवाद भई रहेको छ ।

सम्बन्धित समाचार