घारीबथान घटनाका दोषी अझैँ फरार, खोजीकार्य जारी रहेको प्र.नी ढुंगानाको भनाई

2.9k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १२, घारिबथानमा एक पुरुषको शरिरमा  पेट्रोल छर्केर आगो लगाएको पाँच दिन भईसकेको छ । इश्वरपुर नगरपालिका १२ घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई सोही स्थानका अन्दाजी ३५ वर्षीय शिवजी साहले गत बैशाख २० गते सोमबार बिहान ९ बजे घर नजिकै  शरीरमा पेट्रोल  छर्केर आगो लगाएर फरार भएका थिए ।
 आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ अस्पताल पुर्याउँदा शरिरको ९५ प्रतिशत भाग जलिसकेकोले  त्यहाँ उपचार सम्भव नभएपछि  थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको र त्यहीं उपचारको क्रममा मंगलबार बिहान  मृत्यु भएको उनका परिवारजनले बताएका छन् ।
घटना भएको ५ दिन भइ सक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेपछि आफुहरुले न्याय पाउनेमा आशंका सुजना भएको उनका छोरा राकेश रायले गुनासो गरेका छन् ।    आफ्नो बुबाको हत्यामा संलग्न शिवजीसँग कुनै पनि किसिमको रिसिवी र दुस्मनी नरहेको उनका छोराले बताएका छन् । 
    शियासरणको हत्यामा संलग्न शिवजी वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि  सउदी बस्दै आएको र सउदीबाट आएको २४ घण्टा पनि नबित्दै आफ्नो भाई अन्दाजी २५ वर्षीयका लक्ष्मण साहसँग मिलेर ज्यानै लिने हिसाबले घटना गराएर सोही दिनदेखि फरार भएका छन् ।पिडितको परिवारले शिवजीसहित उनकी श्रीमती अन्दाजी ३० वर्षीया सुनिता साह र भाई लक्ष्मण साहको विरुद्धमा  इलाका प्रहरी कार्यालय केशरजंग,वयलबासमा किटानी जाहेरी समेत दिएका छन् ।
सोही किटानी जाहेरीका आधारमा प्रहरीले सुनितालाई नियन्त्रणमा लिएर फरार आरोपीहरुको खोजी कार्य तिब्र पारेको इलाका प्रहरी कार्यालय केशरजंग,वयलबासका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनु भयो । प्रहरीले हत्याराहरुलाई तुरुन्त पक्राउ गरेर कानुनको दायरामा ल्याउने उहाँले बताउनु भयो । मृतक शियाशरणका एक छोरा र दुई छोरी रहेका उनकी पत्नी अन्दाजी ५० वर्षीया कान्ति देवीले बताउनुभयो ।

सम्बन्धित समाचार