Close This

लक डाउनका बवजुत पनि जुडशितल पर्व मनाइँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१ गते   ४७४ पटक हेरिएको

नयाँ वर्ष २०७७ लाई स्वागत गर्दै आज (मंगलबार) लकडाउनकाबीच मिथिलाञ्चल लगायत तराई मधेशमा जुडशितल पर्व मनाइँदै छ ।नव वर्षको अवसरमा वैशाख २ गते हरेक वर्ष तराई मधेशमा यो पर्व मनाउने गरिन्छ । आजको दिन एकाबिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठ सदस्यले आफूभन्दा सानालाई शीर एवम तालुमा जल सिंचित गर्दै थपथपाएर आर्शिवाद दिने प्रचलन रहेको छ ।
आमाबुबा, हजुरबा, हजुरआमा, काकाकाकीसहित परिवारका जेष्ठ सदस्यले लोटा र कमण्डलुमा पानी लिएर आफ्ना घरपरिवार, छिमेक तथा समाजका आफुभन्दा सानालाई खोजी खोजी अन्जुलीमा जल लिएर तालुमा सिंचित गरी आशिर्वाद दिने प्रचलन रहेको छ ।यसो गर्दा वर्षभरि सितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास रहेको छ । आजका दिन रुखविरुवामा पनि पानी सिंचित गर्नुको साथै खेतबारीमा मलजल गर्ने तराई मधेशमा परम्परा रहेको छ ।
सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविदहरुको भनाई छ । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । जुडशितलको अवसरमा मिथिलाञ्चलका विभिन्न स्थानमा होली पर्व जस्तै हिलोपानी खेल्ने गरिन्छ । आज एकदिन अघि नै पकाएको बासी भात र चुल्हो देवतालाई चढाइन्छ । साथै घर घरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवा लगायतका मिष्ठान्न परिकार बनाएर भोज खाने प्रचलन रहेको जानकारहरुले बताएका छन ।
कोरोना महामारीको प्रकोपबाट बच्न सरकारले गरेको लकडाउनको कारण यस वर्ष गाउँटोलका जेष्ठ सदस्यले घरमै बसेर आफु भन्दा सानालाई पानी सिंचित गरी आशिर्वाद दिएका छन्। यस अघिका वर्षहरुमा गाउँका अग्रजहरुले टोल टोलमा घुमेर पनि आफुभन्दा सानालाई आशिर्वाद दिने गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech