Close This

सर्लाहीमा अक्सिजन र कोरोना संक्रमितलाई दिने औषधीको आभाव

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२६ गते   २६८ पटक हेरिएको

सर्लाहीमा अक्सिजन तथा कोरोना भाईरस संक्रमितलाई दिने अति आवश्यक औषधीको चरम आभाव सृजना भएको छ ।  जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समिति ( डिसिसिएमसि) ले पटक–पटक बैठक बसि सुरक्षा सतर्कता कसरी अपनाउने र कोरोना भाईरस फैलिन कसरी नदिने जस्ता तयारीहरु गरेपनि अक्सिजन तथा कोरोना भाईरस संक्रमितलाई दिने अति आवश्यक औषधीको चरम आभाव भएपछि जिल्लामा देखापरेका कोरोना संक्रमितलाई कसरी व्यावस्थापन गर्ने भन्ने चिन्ता थपिएको स्वास्थ्य कार्यालय  सर्लाहीका प्रमुख स्वास्थ्य प्रशासक श्रवण कुमार नायकले गुनासो गर्नु भयो ।
प्रदेश नम्बर २ सरकारले जिल्ला अस्पताल सर्लाहीलाई अक्सिजन खरिदको लागि रु. ५ लाख र अटोमेटिक अक्सिजन प्लान्ट निर्माणका लागि रु. ५० लाख सहयोग गरि सकेको छ । प्रदेश सरकारले सहयोग गरिसकेको भएपनी जिल्ला अस्पतालमा अक्सिजन नआएको र प्लान्ट तयार गर्ने  कार्यमा समेत ढिलाई भएको जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डर संजिव कुमार सिंहले स्विकार गर्नु भयो । रु ५ लाखको अक्सिजन खरिदको लागि टेण्डर गरि सकेको तर भारतमा लकडाउन भएपछि अक्सिजन आउन नसकेको उहाँले बताउनु भयो । त्यस्तै अटोमेटिक अक्सिजन प्लान्टको लागि  भौतिक संरचनाको निर्माण कार्यभई रहेकोले निकै ढिलाई भएको उहाँले बताउनु भयो ।
यता,जिल्लामा बैशाख ३१ गतेसम्मको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा घोषणा गरिएको भएपनि सिमानाकाबाट नेपाल प्रवेश गर्नेहरुको लर्काे नरोकिँदा जिल्लामा कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढी रहेको छ ।  छिमेकी मुलक भारतमा कोरोना भाईरसबाट लाखौंलाख मानिसहरु कोरोना संक्रमणका कारण मर्न थालेपछि जिल्लाका  सीमानाहरु सिल गरेको भनियता पनि खुल्ला सिमानाका कारण संक्रमणको जोखिम बढी रहेको छ ।  
 संक्रमितको अवस्था जटिल बनेपछि थप उपचारका लागि जनकपुर अथवा बिरगंज लगेपनि त्यहाँ शैयाको आभाव रहेने गरेको र कतिपयले त अस्पतालमा भर्ना समेत पाउन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । सर्लाहीमा कोरोनाबाट ज्यान गुमाएका चारजना पुरुषहरुकोनि जिल्लामा उपचार सम्भव नभएपछि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech