Close This

हाट–बजार बन्द भएपछि बारीमै कुहिन थाल्यो तरकारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२ गते   २२३ पटक हेरिएको

कोरोनाका कारण जिल्लाका हाट–बजार बन्द भएपछि सर्लाहीका किसानहरुले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । स्थानीय प्रशासनले हाट–बजार बन्द गरेको र गाउँमा तरकारी बेच्नसमेत समस्या भएपछि किसानहरुको तरकारी बारीमै कुहिन थालेको हो । 
यसअघि जिल्लाका किसानले आफूले उत्पादन गरेका तरकारी काठमाडौं उपत्यका तथा अन्य जिल्लामा बेच्ने गर्थे । तर, कोरोना कहर र निषेधाज्ञाका कारण सहज ढुवानी हुन नसक्दा तरकारी बारीमै कुहिन थालेपछि किसान चिन्तित देखिएका छन् ।  निषेधाज्ञासँगै बजार बन्द रहेकाले तरकारीको माग पनि घटेको र पहिला घरमै आएर तरकारी लैजाने व्यापारीले पनि नलगेको किसानहरुको भनाइ छ । जिल्लाका स्थानीय हाट–बजारमा लगेर तरकारी बेच्न नपाएपछि किसान थप मर्कामा परेका हरिवन नगरपालिका २ की स्थानीय किसान रामपुकार महत्तोको गुनासो छ ।
किसानको बारीमा अहिले काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, भन्टा, गोलभेंडा, साग,चिप्ले भिण्डीलगायतका तरकारी लटरम्मै फलेका छन् । गत वर्ष पनि यसै सिजनमा लकडाउन भएपछि जिल्लाका अधिकांश किसानहरुले आफ्नो खेत बारीमा उत्पादन भएको तरकारी बजारसम्म पु¥याउन पाएका थिएनन् । 
अन्य बालीजस्तो तरकारी भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिन दिनु वा पशुहरूलाई खुवाउनुको विकल्प नरहेको लालबन्दी नगरपालिका ७ का  का वडाध्यक्ष सुरेन्द्र कूमार न्यौपानेले बताउनु भयो ।
लकडाउन, निषेधाज्ञालगायतका अप्ठ्यारो समयमा तीनै तहको सरकारले किसानको कृषिउपज नष्ट नहुने व्यवस्था मिलाउन ध्यान दिनुपर्ने किसान अगुवा तथा लालबन्दी नगरपालिका ५ का स्थानियबासी हरी प्रसाद धमालाले बताउनु भयो । जिल्लामा शितभण्डारण केन्द्र नहुँदा जिल्लाका तरकारी उत्पादक किसानहरुलाई थप समस्या हुने गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech