Close This

गृह जिल्लाको पाँच दिने भ्रमणमा रहनु भएका कृषि मन्त्री यादवलाई भव्य स्वागत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२७ गते   १०२ पटक हेरिएको

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ । मन्त्री यादवलाई पुर्व पश्चिम लोकमार्ग स्थित नवलपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादवलाई स्वागत गर्न तथा लिनका लागि सर्लाही सदरमुकाम मलङ्ग्वाबाट पार्टीका नेता तथा कार्यकर्ताहरु धुमधामका साथ नवलपुर पुगेका थिए ।
विगतका प्रतिगमनकारी मन्त्रीहरु जनतालाई अन्धविश्वासमा मात्र राखेन्न ती १३ दिने मन्त्रीहरु जनताका हक र अधिकारलाई हनन् गरेर मन्त्री बनेका मन्त्री यादवको आरोप छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिगमनकारी मन्त्रीहरु जनताको हितको नभएको र देशको संविधानले पनि नालायक राजनीति भन्दै प्रतिगमनकारी मन्त्रीहरुलाई अयोग्य प्रमाणित गरिदिएको बताउनु भयो । 
अहिलेको गठबन्धनको सरकार चुनावी सरकार भएकोले गठबन्धनको साथमै देशमा चुनाव होस् भन्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले चाहेको मन्त्री यादवले बताउनु भयो । देशमा कुनै पार्टीले बहुमत ल्याउन नसक्ने अवस्था भएकोले गठबन्धनको माध्यमबाट बहुमत ल्याएर संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको रक्षा हुने मन्त्री यादवले ठोकुवा गर्नु भयो । यो गठबन्धनको सरकारमा मूल्य र मान्यताको राजनीतिलाई अगाडि बढाएर देशको हितमा सबैलाई काम गर्न मन्त्री यादवले सुझाव दिदै स्थानीय चुनाव पनि नजिकिदै आएकोले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सक्रिय भएर संगठनलाई मजबुत बनाउन तत्काल लाग्नुपर्ने उहाँले बताउनु भयो ।
कृषी प्रधान देशमानै कृषि उपेक्षामा पर्नु दुर्भाग्यपूर्ण भएको बताउदै मन्त्री यादवले २०५१ साल देखि २०७८ सालसम्म लगातार आफू २७ वर्षदेखी सांसद रहेको र यो २७ वर्षको अवधिमा कृषि मन्त्रालयको बजेट रु ३–३.५ र ४ प्रतिशत भन्दा बढी नहुनु राज्यले परम्परागत बजेटलाई निरन्तरता दिएको उहाँको आरोप छ ।
परम्परागत खेती प्रणालीले किसानहरुको जीवनस्तरमा कुनै परिवर्तन नहुने मन्त्री यादवले दाबी गर्नु भयो । कृषि आधुनिकीकरण र व्यवसायीकरण भएमा मात्र किसानहरुको हित हुने र यस कामका लागि मन्त्रालयले कुनै कसर बाकी नराख्ने मन्त्री यादवले बताउनु भयो । किसानहरुको हितमा आमूल परिवर्तनका लागि राज्यले नीतिमा परिवर्तन र बजेटमा बढोत्तरी गर्नुपर्ने मन्त्री यादवले बताउनु भयो । २० वर्षे कृषि योजना देशमा लागू भएको ६ वर्ष पुग्दा पनि किसानहरुको हितमा केही हुन नसकेको मन्त्री यादवले बताउनु भयो ।
मलखाद नेपाल भित्र्याउदा हुने समस्या, मलखादको चुहावट र बिउबिजनको समस्या माथी आफ्नो ध्यान केन्द्रित रहेको र यसको सहजताका लागि आफू लागिपरेको मन्त्री यादवले बताउनु भयो । ३ सय हेक्टरमा फैलिएको उष्ण प्रदेशिय बागबानी र तेलबाली अनुसन्धान केन्द्रको नयाँ विकल्प खोज्न आवश्यक भएको बताउदै मन्त्री यादवले आधुनिक, व्यवसायीक र रोजगारमुलक कृषि खेतीका लागि यो ठाउँ उपयुक्त भएको र यसका लागि लालबन्दी नगरपालिका र रिट परियोजनासंग समन्वय गर्ने बताउनु भयो ।
मन्त्री यादवले जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ता एवं क्षेत्रका जनताहरु संग प्रत्यक्ष भेटघाट गर्न तथा विजया दशमी, शुभ दिपावली एवम छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान लगायत पाँच दिने गृह जिल्ला भ्रमणको औपचारिक सुरुवात बुधबार नवलपुरबाट शुरु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech