लालबन्दी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लालबन्दी लि.को ४ वर्षे कार्यकालका लागि शनिबार निर्वाचन हुदैछ । संस्थाको ४ वर्षे कार्यकालका लागि नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी),नेकपा(माओवादी केन्द्र)जसपा र राजपा, नेकपा(एमाले) र राप्रपाबाट गरि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट इन्द्र योञ्जन, नेकपा(माओवादी केन्द्र)जसपा र राजपाको तर्फबाट हेम बहादुर श्रेष्ठ(श्याम) र नेकपा(एमाले) र राप्रपाबाट देवनाथ पोख्रेलले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
लालबन्दी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लालबन्दी लि.को ४ वर्षे कार्यकालका लागि शनिबार हुने निर्वाचनको तयारी समेत पुरा भई सकेको निर्वाचन समितिका संयोजक गोपाल थापाले जानकारी दिनु भयो । उहाँका अनुसार “हामी अन्तिम तयारीमा छौँ, लगभग काम सकिएको छ , शुक्रबार मतदान अधिकृतहरुलाई तालिम पनि दियौँ,अब बाँकी कर्मचारीलाई सिकाउने काम गर्न बाँकी छ ।” बताउनु भयो ।
संस्थाको शनिबार हुने निर्वाचनका लागि “मतदान केन्द्र तयार भइसकेको र मतपत्रसहित अन्य मतदान सामग्री लगभग तयारी रहेको ”निर्वाचन समितिका संयोजक थापाले बताउनु भयो ।
लालबन्दी खानेपानीको नियमित महशुल तिरेका र ब्ल्याक लिष्टमा नपरेका ६ हजार ८ सय ३५ जना उपभोक्ताले मतदान गर्न पाउने व्यावस्था रहेको छ । लालबन्दी नगरपालिकाका ११ वटा वडामा खानेपानी वितरण हुँदै आएको छ । निर्वाचन समितिले शनिबारको निर्वाचनका लागि मतदानस्थल समेत तोकिसकिएको बताएकोे छ ।
लालबन्दी नगरपालिका ३, ४ र ५ का लागि शिशु कल्याण जनता मावि हरिभवन, ६, ७, ८ र ९ का लागि खानेपानीकै कार्यालय लालबन्दी नगरपालिका ६ लेखाली चौर र लालबन्दी १०, ११, १२ र १३ का लागि हीरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि सर्वदलिय बैठक राखेर शनिबार रातीदेखि नै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।