सर्लाहीमा एच.आई.भि संक्रमित र लागु औषध प्रयोगकर्ताको संख्या भयावह

गणेश खड्का    प्रकाशित: २०८०-७-२० गते   १६० पटक हेरिएको

पछिल्लो समय सर्लाहीमा लागु औषध सेवन र प्रयोग गर्ने तथा एच.आई.भि संक्रमितको संख्यामा  वृद्धि हुदै गएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । जिल्लाका सरोकारवालाहरुले गरेको एक कार्यक्रममा सार्वजनिक गरिएकोे तथ्यांकमा सो कुरा उल्लेख गरिएको हो ।जिल्लाका २० वटै स्थानीय तहहरुमा बिगत करिब पाँच वर्षदेखि लागु औषधको प्रयोग गर्ने र एच.आई.भि लगायतका क्षेत्रमा काम गरिरहेको बिजाम नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा जिल्लामा लागु औषधको प्रयोग गर्नेहरुको संख्या एक हजार एक सय ३५ र एच.आई. भि.संक्रमितहरुको संख्या पाँच सय ४१ रहेको उल्लेख गरिएको छ ।
लागु औषध सेवन र प्रयोग गर्ने तथा एच.आई.भि संक्रमितको बिकराल र भयावह अवस्थाबाट आफ्ना सन्ततिलाई जोगाउनको लागि संस्थाको एक्लो प्रयासबाट मात्रै सम्भव नभएको बिजाम सर्लाहीकी कार्यक्रम अधिकृत नितु कुमारी यादवले बताइन् । उनका अनुसार बिजामले मात्रै यो भयावह अवस्थालाई रोक्न नसक्ने भएकाले यसको रोकथामका लागि जिल्लाका सबै सरोकारवाला निकायहरु जिम्मेवारी हुन आवश्यक छ ।
त्यसका लागि घर परिवारले आफ्ना छोरा छोरीहरुको नियमित निगरानी बढाउनु पर्ने,लागु औषध सिरिन्चको प्रयोग र एच.आई.भि.बाट हुने क्षेतीबाट बचाउन सचेतना मुलक कार्यक्रम व्यापक रुप मा संञ्चालन गर्नु पर्ने बिजामले जनाएको छ ।६० बर्ष उमेर समुहका युवाहरु लागु औषधमा फस्ने गरेका पाइएको  साथै १५ देखि १९ वर्ष उमेर समुहका करिब  २० प्रतिशत, २० देखि ३० बर्ष उमेर समुहका करिब ५० प्रतिशत,३१ देखि ४० बर्ष उमेर समुहका करिब १८ प्रतिशत,४१ देखि ५० बर्ष उमेर समुहका करिब आठ प्रतिशत र त्यस भन्दा माथि उमेर समुहका करिब ५ प्रतिशतले लागु औषध प्रयोग गर्ने गरेको बिजामाको तथ्यांकले देखाएको छ ।
लागुऔषधको जोखिमबाट रोक्नको लागि लागु औषध प्रयोग गर्नेलाई निःशुल्क सुई बितरण गरी उनीहरुलाई लागु औषधको प्रयोगबाट हुने असरको बारेमा जनचेतनामुलक जानकारी,एच.आई.भि संक्रमितहरुलाई कन्डम बितरण गरी उनिहरुको  समय समयमा स्वास्थ्य परिक्षणका साथै रोग प्रतिरोधात्मक औषधि बितरण गर्नुको साथै सुधार गृह आवासमा समेत पुर्याउने काम बिजामले गरि रहेको यादवले बताइन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech