सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको इन्दुु शंकर चिनी उद्योगले चालु सिजनको उखु क्रसिङको काम सुरु गरेको छ।नेपाल कै चिनी उद्योगहरुको तुलनामा किसानहरुलाई समय मै भुक्तानी दिएर फरक छवी बनाएको इन्दु शंकर चिनी उद्योगले मंसिर १८ गते नै डोङ्गा पूजा गरि केही दिनमा उद्योग सञ्चालनमा ल्याउने जनाएको थियो।
विगतका वर्षमा सबैभन्दा पहिले सञ्चालनमा आउने उद्योग यो वर्ष भने गढिमाई मेलाका कारण मजदुर र उखुको अभाव हुने भन्दै ढिलो गरी सञ्चालनमा आएको उद्योगको प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए।उनका अनुसार दैनिक करिब ५० हजार क्विन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता भएको उद्योगले यस वर्ष करिब ३६ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ ।जिल्लामा उत्पादन भएको उखु अन्यन्त्र नगए उद्योगले राखेको लक्ष्य पुरा हुने उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए।उनका अनुसार पछिल्लो समय केही उद्योगहरुले उखुको भुक्तानी नदिने तथा मकैको मुल्य बढेका कारण जिल्लामा उखु उत्पादन घटेको छ।सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल केही साताअघि देखि नै सञ्चालनमा आइसकेका छन् ।
सरकारले यो वर्षका लागि यही मंसिर १३ गते उखुको मूूल्य रु पाँच सय ८५ निर्धारण गरेको छ ।सरकारले अनुदान वापत प्रतिक्विन्टल रु ७० र उद्योगले प्रतिक्विन्टल रु पाँच सय ८५ गरी उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल रु छ सय ५५ उपलब्ध गराउने निर्णय भएको छ ।यता,चिनी उद्योगहरु सञ्चालनमा आएपछि दुर्घटनाको जोखीम बढ्ने भएकाले विशेष अभियान सुरु गर्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले बताए ।