अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

गणेश खड्का    प्रकाशित: २०८०-४-६ गते   २२३ पटक हेरिएको

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ गरेको छ । 

कपिलवस्तु, यशोधरा गाउँपालिका-६ पुर्निहवा चोकबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रूपन्देही सैनामैना नगरपालिका-२ पेरिसडाँडा बस्ने २८ वर्षीय बिकाश खत्री क्षेत्री र रूपन्देही शुद्धोधन गाउँपालिका-२ खैरेनी बस्ने २६ वर्षीय सबिक घर्ती मगर रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३-००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, सुरुङ्गा नगरपालिका-२ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्रामसहित सोही नगरपालिका-२ हनुमान चोक बस्ने २२ वर्षीय मनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech