मिटर ब्याज अर्थात अनुचित लेनदेन सम्बन्धि रु पाँच लाख भन्दा कम रकमको निवेदन अबदेखि इलाका प्रहरी कार्यालयले हेर्ने भएको छ।अनुचित लेनदेन समन्वय सहजीकरण समिति सर्लाहीले मिटर ब्याजी बिरुद्ध परेका रु पाँच लाख भन्दा कम रकमका निवेदनहरु फर्छ्यौटका लागि सम्बन्धित इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार अनुचित लेनदेन समन्वय सहजीकरण समिति सर्लाहीले सुरुमा लिएको निवेदनबाट रु पाँच लाख वा सो भन्दा कम रकमको निवेदन माथि छलफल गरि फर्छ्यौट गराउनका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरु वा ईलाका प्रशासन कार्यालयमा प्रकामा पठाउने निर्णय गरेको हो।समितिको निर्णय बमोजिम जिल्लाको ईलाका प्रहरी कार्यालय लालबन्दी,केशरगन्ज, बरहथवा,हरिपुर र गडहियाडुमरीयामा ३०÷३० वटा निवेदनका फाइलहरु पठाइएको र इलका प्रहरी कायाृलय चक्रघट्टामा १५ वटा र इलाका प्रहरी कार्यालय हरिवनमा १२ वटा फाइलहरु पठाइएको अनुचित लेनदेन समन्वय सहजीकरण समिति सर्लाहीले जनाएको छ ।
इलाका प्रशासन कार्यालय बरहथवामा समेत २७ वटा गरि जम्मा दुई सय चार वटा निवेदनका फाइलहरु पठाइ सकेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।दुवै पक्ष बिच छलफल गराइ निवेदन फर्छ्यौट गराउन सबै कार्यालयहरुमा फोकल पर्सन समेत तोकिएको उनको भनाई छ ।यसअघि गाउँघरमै स्थानीय भद्रभलादमी तथा जनप्रतिनिधिहरुको रोहवरमा दुवै पक्ष बिच सहमती भई सहमती कार्यान्वयन समेत भइसकेका वा लेनदेन कारोबारको निरन्तरता नरहेका निवेदनहरुलाई मिटर व्याज कारोबार अन्तर्गत नहेर्ने सहजीकरण समितिले निर्णय समेत गरेको छ।
जिल्लाका १७ वटा पालिकाबाट मिटर ब्याज सम्बन्धी करिब एक हजार उजुरीहरु दर्ता भएका थिए ।त्यस मध्य अनुचित लेनदेन समन्वय सहजीकरण समिति सर्लाहीले फर्छ्यौट गराउन बाँकी रहेका र रु पाँच लाख भन्दा कमका उजुरीहरु सम्बन्धीत क्षेत्रका ईलाका प्रहरी कार्यालयहरुका साथै ईलाका प्रशासन कार्यालयहरुमा पठाइएको समितिले जनाएको छ ।