शीतलहर र कठ्यांग्रो चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयहरु बिदा

221 Shares

पछिल्ला केही दिनदेखि सर्लाही सहित मधेश प्रदेशका जिल्लाहरुमा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयहरु अनिश्चित कालका लागि बिदा दिइएको छ ।घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन नराम्रोसँग प्रभावित हुनुका साथै जिल्लाका सामुदायिक विद्यालयहरुमा बिदा दिईएको स्थानीय तहहरुले बताएका छन् ।

विगत केही दिनदेखि शुरु भएको शीतलहरले स–साना विद्यार्थीहरू प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहरुले सूचना जारी गरेर विद्यालयहरु बिदा गरेका हुन ।हाल दिएको जाडो बिदा र वर्षे बिदाबाट कट्टा हुने गरि जिल्लाका सामुदायिक विद्यालयहरुमा बिदा दिईएको स्थानीय तहहरुका शिक्षा शाखाहरुले बताएका छन् ।

विगत एक सातादेखि चिसो हावा सँगै शीतलहर चल्दा बालबालिका,वृद्धवृद्धा,अशक्त,अपाङ्गता भएका मानिसहरुका साथै गरिब,विपन्न र खुल्ला आकाशमा काम गर्ने मजदूर वर्ग बढी प्रभावित भएका इश्वरपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख एवम उप–सचिव हरिप्रसाद दाहालले बताए ।उनका अनुसार पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएकोमा मौसम थप प्रतिकुल बनेपछि नगरपालिकाले माघ ४ गतेसम्म जाडो बिदा थप गरेको हो भने जिल्लाका अन्य पालिकाहरुले माघ ७ गते सम्मका लागि जाडो बिदा दिएका छन् ।

केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सूचारु गर्दा समस्या हुने भएपछि बालबालिकाहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी जिल्लाका स्थानीय तहहरुले जाडो बिदा थप गरेको जनाएका छन् । चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन् । एक सातादेखि घाम नलाग्दा तराई क्षेत्रको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ र तुसारो चली रहँदा जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण दम तथा रुघाखोकीको समस्याका बिरामीहरु बढेका नगर अस्पतालका प्रमुख एवम स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर रामविश्वास रायले बताए उनका अनुसार चिसोका कारण अपाङगता भएका मानिसहरु,दम,हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् 

लगातार बढेको चिसोका कारण जिल्लाका बजारहरुमा चहलपहल पनि घटेको स्थानीय व्यापारीहरुले बताएका छन् ।यहाँका न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस तथा अधिकतम १९ डिग्री सेल्सियस रहेको छ । शितलहरले कृषि क्षेत्रलाई समेत प्रभावित पारेको छ ।शितलहरका कारण प्रचुर मात्रामा खस्दै आएको तुसारोले आलु,गोलभेंडा,प्याजको वेर्ना लगायतका तरकारी वालीलाई प्रभावित पारेको किसानहरुले बताएका छन् ।

 

सम्बन्धित समाचार