Close This

सर्लाहीमा निषेधाज्ञाको समयमा पनि सडकमै भोजभतेर,निषेधाज्ञा उल्लंघन बढ्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३ गते   २५४ पटक हेरिएको

 विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को संक्रमण दर दिनप्रतिदिन बढ्न थालेपछि नेपाल सरकारले देशव्यापी निषेधाज्ञाको घोषणा गरेको छ । कोरोना संक्रमणको दर त्यतिकै बढी रहेको छ । यता, नागरीकहरु त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहेका छन् । 
त्यस अन्र्तगत कविलासी नगरपालिका–२ पिपरियामा सडकमै बिहे भोजको आयोजना गरिएको छ । सयौंको संख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी भएका छन् । सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकिय सवारी साधनहरु सञ्चालनमा समेत समस्या सुजना हुनेगरेको एक एम्बुलेन्स चालक  नागेन्द्र साहले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो “। म जिल्ला सदरमुकाम मलंगवाबाट कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बोकेर एम्बुलेन्स लिएर जाँदै थिए । बाटोमै भोज रहेछ,बाटो नपाएपछि गल्लीबाट एम्बुलेन्स निकालेर लिएर आएको हुँ ।”
गाउँमै भीडभाड गरेर भोज भइरहेको प्रति उनले चिन्ता व्यक्त गरे । ‘बिरामी बोक्न आएको, एम्बुलेन्स गाउँमा भीडभाड पारेर भोजभतेर चलिरहेको देखे, त्यो पनि सडक अवरुद्ध पारेर, एम्बुलेन्स निकाल्न पनि गाह्रो भयो,’ उनले भने, ‘नागरिक अझै पनि जागरुक भइसकेका छैनन्, जिम्मेवार निकाय पनि उदासीन भएको महसुस भयो, यो चिन्ताको विषय हो ।’
संक्रमण बढ्दै गएपछि प्रशासनले सर्लाहीमा विगत करिब १० दिनदेखि निषेधाज्ञा जारी राखेको छ । तर, स्थानीय निषेधाज्ञा उल्लंघन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ । भीडका बीच संक्रमण अझै फैलिने सम्भावना छ । यसतर्फ सरोकारवाला निकाय,स्थानीय नागरीक कसैलाई पनि चिन्ता,वास्ता र चासो छैन । डीसीसीएमसी र स्थानीय प्रहरी प्रशासन पनि यस्ता विषयमा बेखबर छन् । प्रहरीको उपस्थिति रहेको स्थानमा अलि कडीकडाउ देखिए पनि बाँकी स्थानमा निषेधाज्ञाको पालना हुनसकेको छैन ।
 डिजे बाजा र पटाका पड्काएर आतिशबाजी निषेधाज्ञाकोसमयमा पनि चलि रहेको छ । सयौंको संख्यामा जन्ती बोकेर बिबाह चलि रहेका छन् भने भोजभतेर पनि रोकिएका छैनन् ।गाउँका पसल र हाट बजारमा भीडभाड घटेको छैन  । ‘प्रशासनले सामाजिक कार्य गर्र्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको संख्यामा जम्मा हुने गरेका छन्,’ उनले भने, ‘व्यापार व्यवसाय पनि चलेकै छ, निषेधाज्ञा जारी गर्ने र नियमन गर्ने निकाय पनि मौन बसेका छन् ।’
कतिपय जनप्रतिनिधिले नै बिहे जस्ता कार्यमा अलि छुट दिन दबाब दिने गरेको प्रहरी स्रोतले जनाएको छ । ‘कोरोना माहामारी नियन्त्रणमा अग्रस्थानमा रहनुपर्ने जनप्रतिनिधि उल्टै हामीमाथि दबाब दिन खोजिरहेका छन्,’ प्रहरी स्रोतले भन्यो । जिल्लाका अधिाकांश स्थानमा भीडभाडका साथ बिहे, व्रतबन्ध र भोजभतेर चलिरहेको छ । पछिल्लो समय भारतसँग सीमा जोडिएका पालिकाहरूमा संक्रमितको संख्या बढिरहे पनि सचेतना र नियन्त्रणमा पालिका प्रमुखहरू नजुटेको गुनासो छ । 
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गर्नु भयो ।  ‘चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौं, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’ उहाँले बताउनुभयो । ‘स्थानीय तह पनि जिम्मेवार बन्नुपर्छ ।’ सर्लाहीमा आईतबार साँझ सम्म सक्रिय संक्रमित संख्या ६ सय ७० पुगेको छ । भने २६ जनाको ज्यान गएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech