Close This

मुद्धा प्रक्रिया झन्झटिलो हुँदा काठ र सवारी साधन वन कार्यालय परिसरमा सड्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२४ गते   १७०३ पटक हेरिएको

न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य सालको काठ सड्न थालेको छ । जिल्लाका विभिन्न सामुदायिक तथा साझेदारी वनमा विभिन्न समयमा चोरी तस्करी भएका  काठ वनका कर्माचारी,प्रहरी प्रशासनको नियन्त्रणमा आएर सव डिभिजन वन तथा डिभिजन वन कार्यालयहरुमा थन्किदा मुद्धा प्रक्रिया नै ढिलो भएको कारण सड्न थालेको छ ।
जिल्लाका विभिन्न सामुदायिक तथा साझेदारी वनबाट चोरी कटान गरी निकासी गर्नेक्रममा वनका कर्मचारीहरु र प्रहरीहरुले बरामद गरेको काठ लामो समय सम्म मुद्धा प्रक्रियामा अल्झीँदा सड्न थालेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी सहायक डिभिजन वन अधिकृत राकेश रन्जन दासले बताउनु भयो । उहाँका अनुसार विभिन्न समयमा तस्करहरुलेचोरी निकासी गर्न लागेको समयमा तथा चोरी निकासी गर्दैगरेको अवस्थामा बरामद् गरिएको काठ र काठ सहितका विभिन्न सवारी साधनहरुको मुद्धा लामो समय सम्म नटुंगिँदा काठ सड्न थालेको छ भने सवारी साधनहरु जिर्ण भईसकेका छन् । बरामद् काठ तथा सवारी साधनहरुको मुद्दा समयमै फैसला नहुँदा लिलामी प्रक्रियामा लैजान नसकिएको उहाँले बताउनु भयो ।
चोरी कटान भएका काठ बरामद गरिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । बरामद गरिएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास तथा त्यसभन्दा बढीको सुनवाइ जिल्ला अदालतले गर्ने कानुनी व्यवस्था रहेको डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताउनु भयो । उहाँका अनुसार बरामद गरिएको २ हजार ९ सय ८५ दशमलव १२ क्यूफिट काठ डिभिजन वन कार्यालय मातहतको सशस्त्र वन सुरक्षा शाखाको सुरक्षामा विगत करिब ३ वर्ष भन्दा बढी समय देखि थन्किएको छ । 
वन ऐनको मुद्धा विशेष फरक खालको भएका कारण मुद्धा प्रक्रियामै लामो समय लाग्दा करिब १० वर्ष यता बरामद् भएको काठ र सवारी साधनहरु अहिले सड्ने र धोद्रिने तथा जिर्ण हुने अवस्थामा पुगेका छन् ।  डिभिजन वन कार्यालय सर्लाहीमा २०७६ साल यता ८४ वन मुद्दा (काठ चोरी निकासी) परेका सहायक डिभिजन वन अधिकृत तथा सुचना अधिकारी दासले बताउनुभयो । यी मुद्दा रु दुई लाख बिगो भित्रका र यसबाहेकका गरि ८४ भन्दा बढी मुद्दा डिभिजन वन कार्यालय र जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । उहाँका अनुसार काठ चोरी तस्करीमा संग्लग्न रहेका ८ वटा ट्याक्टर पनि डिभिजन वन कार्यालय पसिरमा थन्किएका छन् ।
 यस्तै पूर्वपश्चिम रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणका  लागि कटान गरिएको काठ
पनि जिल्लाका विभिन्न ठाउँमा राखिएको छ । कटान भएको काठको लिलामीका लागि वन
मन्त्रालय सम्मको स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । यस क्रममा केही काठ भने स्थानियलाई घरगोठ बनाउन तथा प्रयोग बिहीन अवस्थामा रहेको काठ दाउराको रुपमा स्थानियलाई वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । हाल करोडौँ रुपैयाँको काठ सड्न थालेको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech