सर्लाहीको मलंगवामा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टले अवैध चाँदीका गहनाहरु बरामद् गरेको छ ।मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सिमा नाका नजिकबाट ६ सय ४८ ग्राम अवैध चाँदीका गहनाहरु बरामद् गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मलंगवाका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरिक्षक शंकर दाहालले जानकारी दिनु भयो ।
बिओपी मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक दाहालका अनुसार मंगलबार सशस्त्र प्रहरीको बिओपी मलंगवाको भन्सार सुरक्षा पोष्टबाट खटिएका सशस्त्र प्रहरी नायव निरिक्षक जितेन्द्र कुमार साहको कमाण्डको टिमले जिल्ला भन्सार कार्यालय नजिकबाट अवैध चाँदी गहनाहरु बरामद् गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले मलंगवा नगरपालिका ८ को जिल्ला भन्सार कार्यालय नजिकको खेतको बाटो हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंकालागि रोकेर चेकजाँच गर्दा आफुसँग भएकोे पोका फालेर एकजना भारततर्फ भागेको र उक्त पोकाको चेक जाँच गर्दा चाँदीका गहनाहरु बरामद् भएको बिओपी मलंगवाले जनाएको छ ।
उक्त पोकाबाट चाँदीका ४ जोडी चुरा,४ पिस लकेट,१ जोडी पाउजु,२ थान ब्रासलेट,४ वटा सिक्री र ३६ वटा औंठी बरामद भएको बिओपी प्रमुख दाहालले बताउनु भयो । उक्त बरामद् गरिएकोचाँदीको अन्दाजी मुल्य रु ५८ हजार ३ सय ३३ रहेको बताइएको छ । अवैध चाँदीका गहनाहरु आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको बिओपी मलंगवाले जनाएको छ ।