केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण माछा मर्न थालेपछि जिल्लाका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको ईश्वरपुर, हरिपुर, बगमती नगरपालिका तथा चन्द्रनगर, ब्रहमपुरि गाँउपालिकालगायतका क्षेत्रमा व्यावसायिक रूपमै माछापालन हुने गरेको छ ।
यसरी माछा मर्नुमा लामो समयसम्म पोखरीमा पानी परिवर्तन नहुनु, पानी स्थिर भइरहनु, माछाले पुरानै दान खाइ नसक्नु जसले गर्दा पोखरीमा रहेको पानीमा दाना कुहिँदासमेत माछा मर्ने गरेका पशु प्राविधिक कमला अधिकारी (पोख्रेल)ले बताउनुभयो । माछालाई उपयुक्त तापक्रम १५ देखि २० डिग्री सेल्सीयस रहेको भए पनि पछिल्ला दिनहरूमा गर्मी बढेर ३५ डिग्री सेल्सीयस भन्दामाथि तापक्रम पुग्दा माछा मर्ने क्रम बढेको पशु सेवा प्राविधिक कमलाले बताउनु भयो ।
राम्रो माछा उत्पादन हुन पोखरीमा घामको प्रकाश राम्रोसँग लाग्नुपर्ने हुन्छ । तापक्रम घटाउने नाउमा पोखरीको डिलमा ठूला तथा पोखरीमा छाया पर्ने खालको रूख विरुवा लगाउन नहुने प्राविधिक कमलाको सुझाब छ । माछा उत्पादन बढाउन समय समयमा पोखरीको पानी परिवर्तन गर्ने तथा पानीलाई चलयमान बनाइराख्नुपर्ने उहाँले बताउनु भयो ।
ईश्वरपुर नगरपालिका क्षेत्रमा मात्र करिब २ सय हेक्टरमा माछापालन हुने गरेको माछा उत्पादक किसानहरुले बताएका छन् । जसबाट किसानहरुले प्रतिहेक्टर रु ४÷५ लाख आम्दानी लिइरहेका छन् । सर्लाहीमा उत्पादन भएको माछा देशका विभिन्न ठुला शहरहरुमा समेत जाने गरेको छ । काठमाण्डौँ,पोखरा,विराटनगर तथा धरान लगायतका बजारहरुमा समेत सर्लाहीका माछाहरु जाने गरेका पाइएको छ ।