सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको लालबन्दी कृषि थोक बजार व्यवस्थापन समितिले एक महिनामा साँढे १३ करोडको तरकारी निकासी गरेको छ।लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १३ करोड ५५ लाख ३७ हजार नौ सय ५० को विभिन्न किसिमको तरकारी देशका विभिन्न शहरहरुमा निकासी गरेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका प्रवन्धक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार लालबन्दीसहित हरिवन,ईश्वरपुर,हरिपुर र बागमती नगरपालिकाका साथै चन्द्रनगर गाउँपालिका र महोतरीको बर्दिवास र गौसाला नगरपालिकाका किसानहरुले उत्पादन गरेका विभिन्न किसिमका तरकारी लालबन्दी बजारमा आउने र यहाँबाट देशका मुख्य शहरहरुमा पठाउँदा साउन महिनामा रु १३ करोड ५५ लाख ३७ हजार नौ सय ५० को निकासी भएको हो ।देशभरका ११ वटा मुख्य कृषि थोक बजार व्यवस्थापन समितिहरु मध्यको एक लालबन्दी कृषि थोक बजार व्यवस्थापन समितिले हरेक महिना करिब रु १० करोड बराबरको विभिन्न किसिमको तरकारी काठमाडौं,कास्की,मकवानपुर,चितवन,दोलखा,रामेछाप,सिन्धुलीका साथै विराटनगर र धरान सहित छिमेकी देश भारतका शहरमा तरकारी पठाउने गरेको समितिका अध्यक्ष तोरण बहादुर मगरले बताए ।
उनका अनुसार साउनमा सबैभन्दा धेरै परबल रु चार करोड ७६ लाख ९० हजारको निकासी भएको छ भने बोडी रु दुुई करोड नौ लाख ९७ हजार,भिन्डी रु एक करोड ६२ लाख ४१ हजार पाँच सय,झिङ्गनी रु एक करोड दुुई लाख ७८ हजार,लौका रु ८४ लाख १२ हजार नौ सय ५० र काँक्रो रु ५० लाख ९६ हजार दुई सय ५० का साथै अन्य हरिया तथा अन्य तरकारी गरी रु १३ करोड ५५ लाख ३७ हजार नौ सय ५० को निकासी भएको छ ।