मधेश प्रदेशका मुख्य दलहरु चुनावी समीक्षासँगै ‘पार्टी’ बनाउँने अभियानमा जुटे

1k Shares

दुर्गा कुमारी अधिकारी
मधेसमा मुख्य दलहरू निर्वाचनपछिको प्राप्त मत परिणाम समीक्षा गर्दै थप रणनीतिक योजना सहित संगठन विस्तार र पुर्न गठनमा जुटेका छन्। पार्टी पराजयको गम्भीर समीक्षा गर्दै नेकपा(माओवादी केन्द्र)ले मधेसमा दुई महिने अभियान सुरु गरेको छ भने अपेक्षित नतिजा बटुलेको नेकपा(एमाले)समेत ‘ग्रासरुट’अभियान लिएर फिल्डमा ओर्लीएको छ।
माओवादी केन्द्र र एमालेले पार्टी सुदृढीकरणका लागि व्यापक अभियान अघि बढाइरहेका बेला नेपाली कांग्रेस मधेश प्रदेशका जिल्लाहरुमा पैदल सहयात्रालाई अघि बढाउने निर्णय गरेको छ । भारतीय कंग्रेसको ‘भारत जोडो’ भन्ने अभियानको सिको गर्दै पैदल सहयात्राको माध्यमबाट जनसम्पर्क बढाउने रणनीति नेपाली कांग्रेसले बनाएको छ ।
नेपाली कांग्रेसको ‘पदयात्रा जिल्ला,दर्शन,जनजागरण,पार्टी सुदृढीकरण र शुद्धीकरणको अभिप्रायले अपेक्षित रहेको मधेश प्रदेशका उप सभापति एवम पुर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले बताए । उनका अनुसार मधेश प्रदेशका सबै आठै जिल्लामा कांग्रेसले आफ्नो अभियान क्रमैसंग सञ्चालन गर्ने छ । संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य प्रणालीको मजबुतीको आवश्यकतालाई जागरण फैलाउने र पार्टीलाई बलियो बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको कांग्रेस मधेश प्रदेश समितिका उप सभापति सिंहले बताए ।
त्यस्तै,अघिल्लो निर्वाचनमा निकै पछि परेको एमाले यो निर्वाचनमा मधेसमा नै पहिलो हुँदा पनि सन्तुष्ट बन्न सकेको छैन।निर्वाचनको समयमा पार्टीका जिम्मेवार नेताहरूबाट नै अन्तरघात भएको ठहर गर्दै एमालेले मधेसका केही नेतालार्ई कारबाहीसमेत गरेको थियो ।
एमाले मधेस प्रदेशका उपाध्यक्ष रेवती पन्तलाई पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ भने अन्य विभिन्न करिब दुई दर्जन नेता तथा कार्यकर्तासमेत कारबाहीमा परेका छन्। मधेस प्रदेशका आठै जिल्लामा करिब चार दर्जन नेता तथा कार्यकर्तालाई ग्रासरुट अभियानकै क्रममा स्पष्टीकरण सोधिएको एमाले मधेश प्रदेश कमिटिले जनाएको छ।
५ फागुनबाट सुरु भएको एमालेको ग्रासरुट अभियानमा सहभागीहरूले स्पष्टीकरण माग्ने र चित्त नबुझे कारबाहीदेखि लिखित प्रतिबद्धतासमेत मागिरहेको एमाले नेता रधुवीर महासेठले जानकारी दिए । उनका अनुसार ९ वैशाखमा अभियानलाई औपचारिक रूपमा समापन गरी मधेस प्रदेश र बाँकी रहेका जिल्लाको अधिवेशनको तयारी गर्ने एमालेको योजना रहेको छ ।
यता, माओवादी केन्द्रले पनि पार्टी सुदृढीकरण प्रक्रियालाई युद्धस्तरमा थालनी गरेको छ । चैतदेखि वैशाखसम्म नयाँ सदस्यता,नवीकरण र सुदृढीकरणलाई मधेसमा अघि बढाइने माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचनदेखि नै ओरालो लागेको माओवादी केन्द्रले किन पराजय बेहोर्नुप¥यो भन्ने विषयमा पार्टीले खासै समीक्षा गर्न सकेन,जसको प्रभाव संघ र प्रदेश निर्वाचनसम्म आइपुग्दा निकै कमजोर बन्यो।
अघिल्लो स्थानीय तहको निर्वाचनमा सर्लाहीका तीन पालिकामा आफ्नो जीत निकालेको भएपनि बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाहीका चार पालिका माओवादीले जीतेको भएपनि माओवादी केन्द्र सन्तुष्ट छैन किनकी पहिला जितेको पालिका गुमाएको पीडा माओवादी केन्द्रसंग जिवितै छ ।
पार्टीप्रतिको वितृष्णा र नेताहरू सत्ता मोहमा केन्द्रित हुँदा जिल्लामा पहिला जितेको चक्रघट्टा गाउँपालिका माओवादी केन्द्रले गुमायो । रामनगर गाउँपाकिला,बलरा नगरपालिका र हरिवन नगरपालिका थपेको माओवादी केन्द्र पहिलाको आधार ईलाका गुमेकोमा चिन्तित देखिन्छ । भने संघ र प्रदेश सभाको निर्वाचनमा दुई प्रदेश सभा जितेको भएपनि संघमा पराजय बेहोरेपछि पछिल्लो समय माओवादी केन्द्रको आँखा खुलेको छ ।
सर्लाही क्षेत्र नम्बर ३ मा सांगठनिक संरचना पनि दरिलो र उम्मेदवार पनि दरिलो पाएको माओवादी केन्द्रले नमिठो पराजय बेहोरेपछि माओवादी केन्द्रका नेताहरू मधेसका आठै जिल्लामा तैनाथ भएका छन्। फागुनको पहिलो हप्ता बर्दिबासमा मधेस प्रदेश समितिको बैठक गरेर अन्तरघात,गुट,उपगुट र पार्टीको सांगठानिक संरचनाका विषयमा समिक्षा गरेको थियो ।
उक्त बहसबाट पार्टी सुदृढीकरण गर्ने निर्णय भएसँगै अहिले माओवादी केन्द्रले विभिन्न गतिविधि सञ्चालनमा जुटेको छ। अन्य पार्टीको तुलनामा माओवादी केन्द्रको मधेश प्रदेश संगठन सृदृढिकरण एवम संगठन विस्तार अभियान प्रभावकारी बनेको छ ।तल्लो स्तरसम्मका कार्यकर्तालाइ केन्द्रीय नेताहरूले भेट्ने,छलफल गर्ने,प्रशिक्षण गर्ने र गुनासो सुन्ने यो अभियानले माओवादी केन्द्रलाई थप बलियो बनाउन मद्दत पुगेको विश्लेषकहरू बताउछन् ।
यता,छोटो समयमा लोकप्रिय बनेको सिके राउत नेतृत्वको जनमत पार्टी मधेसमा नै पहिलो हुने दाउमा छ। मधेसवादी दलहरूको टाउकोमा टेकेर जनमतले जनताको सहानुभूति बटुल्ने अभियान अघि बढाएको छ। मधेसवादी दलहरूको आलोचना गर्दै जनताको मुद्दा आफूहरूले मात्र बोक्न सक्ने दाबीसहित यतिबेला जनमतका नेता÷कार्यकर्ता जिल्ला दौडाहामा छन् । सामाजिक सञ्जालमा जनमतमा प्रवेश गरेको भन्दै भिडभाडसहितका तस्बिर सेयर भइरहेका छन्।

सम्बन्धित समाचार