सिन्धुलीको कमलामाई नगरपालिका–२ कुशुमटारका नागरिकलाई वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै स्थानीयस्तर मै सामाजिक सुरक्षा भत्ता परिचय–पत्र नवीकरण सेवा प्रदान गरिएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले जानकारी दिए ।उनका अनुसार वडा कार्यालयसम्मको दूरीका कारण ज्येष्ठ नागरिक,अशक्त तथा सेवाग्राहीहरुले भोग्नु परेको असहजतालाई कम गर्ने उद्देश्यसहित कमलामाई नगरपालिकाले कुशुमटार मै पुगेर नवीकरण सम्बन्धी कार्य सम्पन्न गरेको हो ।
कमलामाई नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उप–शाखाको सक्रियतामा सञ्चालन गरिएको उक्त सेवामूलक कार्यक्रम मार्फत सेवाग्राहीहरुलाई आफ्नो पायक पर्ने स्थानबाटै आवश्यक प्रशासनिक सेवा उपलब्ध गराइएको नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ।नागरिकलाई सहज,सरल र प्रभावकारी रूपमा सरकारी सेवा प्रवाह गर्ने नीति अनुसार वडा क्षेत्रमै पुगेर परिचय–पत्र नवीकरणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाले भौगोलिक अवस्थाका कारण कार्यालयसम्म आउन कठिन हुने नागरिकहरुलाई लक्षित गर्दै घरदैलो तथा नजिकको स्थानबाट सेवा उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयन गर्दै आएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताए।उनका अनुसार कमलामाई नगरपालिकाको टिम कमलामाई नगरपालिका–२ कुशुमटारमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको परिचय–पत्र नवीकरण कार्य गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै लाभग्राहीहरुलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले स्थानीय नागरिकलाई प्रत्यक्ष राहत पुगेको नगरपालिकाले जनाएको छ ।कार्यालय केन्द्रित सेवाभन्दा नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरपालिकाले दुर्गम तथा टाढाका क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी कामका लागि वडा कार्यालय धाउनुपर्ने बाध्यता कम भएपछि स्थानीय नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने अवसर पाएका छन्।यस्ता सेवा विस्तार कार्यक्रमले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी,पहुँचयोग्य र नागरिक मैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।